September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

आज भलभल अष्टमी

भक्तपुर, ४ असार।  सांस्कृतिक नगर भक्तपुरको नवदुर्गा भवानीको ऐतिहासिक परम्पराअनुसार भक्तपुरको जीवित देवीको रूपमा मानिने नवदुर्गा गणको सम्पूर्ण जात्रा बिहीबार समापन हुँदैछ। 

आज परेको भलभल अष्टमीको दिन नवदुर्गा भवानीका देवताहरू जःलय् बिज्याइगु भनेर बिहान देवगण परिवारमध्ये ब्रह्मायणी, माहेश्वरी र भद्रकाली तीन देवगणबाट नवदुर्गा मन्दिरदेखि गुसीं (दाउरा) बोकेर ब्रह्मायणी पीठमा पुर्‍याइने परम्परा रहेको छ।  

बिहानै पूजा तयार गरी दिउँसो १२ बजेदेखि सम्पूर्ण देवगण तयारीका साथ आ–आफ्नो पोशाक लगाएर विधिवत  मन्दिरको चोकमा विराजमान हुन्छन्। मन्दिरको पुजारी (नकिं) ले सम्पूर्ण देवतालाई पूजा गरी अण्डा, माछा–मासु, अदुवा, लसुन, बारालगायतको प्रसाद चढाउँछन् र देवगणबाट भोजन हुन्छ। अन्तिम चरणको पञ्चरङ्गी धागो (पासुका) ब्रह्मायणी देवताको हातबाट सम्पूर्ण देवगण परिवारलाई चढाइन्छ।  

देवगणबाट आफ्नो अन्तिम नाच प्रदर्शन गरी एक–एक जना पालैपालो मन्दिरको चोकमा विलाप गरी दुःखको नाच प्रदर्शन गरिन्छ। तर ब्रह्मायणी देवीबाट हर्षोल्लासका साथ नाच प्रदर्शन हुन्छ।  

    सिम्ह–दुुम्ह, बालकुमारी, श्वेतभैरव, महालक्ष्मी, भैरव महाकाली, बाराही, भद्रकाली, माहेश्वरी, ब्रह्मायणी, कुमारी, महाद्यो, गणेश, नकीं (पुजारी), खीं बाजा, तँ बाजा, कंस बाजाका साथ मन्दिरबाट बाहिर निस्कन्छन्।  आफ्नो जन्मस्थानमा जाने बेला भयो भनेर ब्रह्मायणी  देवी पनि नाच प्रदर्शन गरी मन्दिरबाट बाहिर निस्कन्छ।  

मन्दिर बाहिर नगरका सम्पूर्ण देवतालाई आफ्नो अन्तिम नाचका साथ क्रमशः पञ्चरङ्गी धागो (पासुका) प्रसाद वितरण गर्दै नगरको गछंेँ, तचपाल, इनाचो, गोलमढी, सुकुलढोका, क्वाछंे, टौमढी, तालाको, नासमना, वंशगोपाल, तेखाचो, इताछें, खौमा, लायकू दरवार, बालाखु गणेश, त्रिपुरासुन्दरी चोछें, छुमा गणेश, तुछिमला, भोलाछें, महालक्ष्मी स्थान, दथुटोल, नागपोखरी, सलाँ गणेश, क्वाठण्डौ गरी सम्पूर्ण भक्तजनसँगै छ्वाली बाली पुनः देवताहरू आफ्नो मन्दिरमा प्रवेश गर्ने प्रयास गर्छन्।   

    तर भक्तजनहरूले ढोकामा पहरा बसी मन्दिर प्रवेश गर्न दिन्नन्। देवताहरू निरास हुन्छन्। जन्मेपछि एक दिन मृत्यु हुने तथ्यलाई मनन गरी पुनः गछेंबाट चोफल हुँदै देवगणका सबै देवताहरू सूर्यमढीको दबुमा जम्मा हुन्छन्।   

    भक्तजनहरूलाई बिदाइ गरी सूर्यमढीबाट मध्यरातको समयमा विधिवत पूजाका साथ ब्रह्मायणी पीठमा (कर्माचार्य आचाजु) बाट तान्त्रिक पूजा गरी एक थुम्हा (भेडा) बली चढाइन्छ।  

ब्रह्मायणी पीठमा नवदुर्गा देवगण परिवारमध्येको आचाजुबाहेक अरू भक्तजनले हेर्न नहुने गोप्य तान्त्रिक पूजा हुन्छ। पहिलेका सम्पूर्ण मुकुण्डोहरू जलाएर दाह संस्कार गरिन्छ।  

भलभल अष्टमीको भोलिपल्ट बिहान देवगणहरू ब्रह्मायणी पीठबाट देवताको तोरण (मतु) बोकेर गःछेँस्थित द्योछें (देवता घर) फर्कन्छन्।  

    सोही दिन बेलुका आ–आफ्नो जिम्मेवारीमा रहेको गरगहना अर्को वर्षको निम्ति पालो पाउने व्यक्तिलाई हस्तान्तरण गर्दै आफ्नो जिम्मेवारीबाट मुक्त हुन्छन्।  

मन्दिरको पुजारी अर्थात् नकिं र अर्को वर्षको निम्ति नकिं पद ग्रहण गर्ने दुवैबाट आरती बाली मन्दिरमा पूजा गरिन्छ। वर्षभरिको देवगण र नकिंको सम्पूर्ण आम्दानी १४ जना देवगणलाई बाँडफाँट गरिन्छ। अर्को वर्षको लागि पालो आउने  व्यक्तिहरू सक्रिय भएर नवदुर्गा जात्रा कार्य सञ्चालन  गरिन्छ।