पनिकाको लापरबाहीले पुनर्योग गराउन बाध्य
भक्तपुर, ४ असार। परीक्षा नियन्त्रण कार्यालय (पनिका) सानोठिमीमा परीक्षाफल सार्वजनिक भएको तेस्रो दिन आइतबारदेखि नै पुनर्योग गराउनेको भीड लागेको छ।
देशका विभिन्न विद्यालयबाट आएका धेरैले परीक्षाफलको मार्कलेजरमा आफूले पाएको नम्बर चित्त नबुझेपछि 'रिटोटलिङ' गराउन आएको बताए। कतिले त पनिकाको लापरबाहीका कारण आफूहरू असफल भएको गुनासो गरेका छन्।
'झन् म्याथको परीक्षा राम्ररी दिएको थिएँ, त्यसमै सोचेजस्तो मार्क पाइएन।' पनिकामा पुनर्योग गराउन नेपालगञ्जको महेन्द्र नमुना उमाविबाट जाँच दिएका विद्यार्थी सागर थापाले भने। आफूले गेस गरेअनुसारको नम्बर नआएपछि आफू प्रथम श्रेणीमा खुम्चिनु परेको गुनासो गर्दै उनले केही प्रगतिको आशा राखेर पुनर्याेग गराएको बताए।
उनका अनुसार आफूले अनिवार्य गणितमा ६५ अङ्क मात्र पाएका थिए। उनको मेहनतअनुसार उनले सो विषयमा ८५ आउनुपर्ने थियो। 'खै के कारण हो, २० नम्बरको फरक भो, चित्तै नबुझेपछि पुनर्योगका लागि आएँ।' उनले भने।
त्यस्तै पुनर्योगका लागि बागलुङदेखि आएका मनोज गुरूङले आफूले पनि गणितमा २१ मात्र प्राप्ताङ्क खुलेको मार्कलेजरमा पाएको बताए।
आफू एसएलसीमा असफल भएको बताउँदै 'कम्पार्ट' दिनुपर्ने हो कि भन्ने चिन्ता लागेको बताए। परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीको कारण उनी मात्र नभएर परिवारै निराश भएको सुनाए। 'स्कूल पढ्दा कहिल्यै पनि गणितमा फेल नहुने, फेल नहुनेमात्र नभएर प्रायः सधैं म्याथमा त ८० कट्थ्यो।'
े उनीसँगै आएका उनका दाजु दिनेशले भने। उनीहरूले कक्षा ८ को मार्कसीट, कक्षा ९को मार्कसीट र टेष्टको पनि मार्कसीट सँगै ल्याएका थिए। ती तीनवटै मार्कसीटमा गणित विषयमा उनले ८५ नम्बर ल्याएका थिए।
काठमाडौं ज्ञानोदय माविका विद्यार्थी आशिष प्रधानले पनिकाको कामप्रति चित्त बुझाएका छैनन्। डिस्टिङ्सन आउने गेस गरेकोमा उनले अनिवार्य विज्ञान विषयमा ५३ मात्र पाउँदा आफ्नो जीवनकै लक्ष्यको लागि ढोका बन्द भएको बताए।
पास भएका विद्यार्थीको गुनासो पनि गणित र विज्ञान विषय गरी दुई विषयमा धेरै देखिएको परीक्षा कार्यालयले जनाएको छ। परीक्षामा ७९ दशमलव ३७ प्रतिशत ल्याएकी श्रेया भट्टराईले भनिन्, पुनर्योगबाट नम्बर पाउने आशा लिएकी छु।
यो सन्दर्भमा अभिभावक सङ्घ नेपालका अध्यक्ष सुप्रभात घिमिरेले परीक्षा नियन्त्रणको प्राविधिक कारणमात्र नभएर नेपालको कापि जाँच गर्ने तरिका नै भद्रगोल भएकोले वर्सेनि यस्तो समस्या भएको बताए। 'हरेक वर्ष त्यही समस्या दोहोरिने गरेको छ, तर पनिका त्यसमा सुधारको लागि एक सिन्को भाँच्दैन।' उनले गुनासो गरे। उनका अनुसार शिक्षकले किताबमात्र पढाएको र उपयुक्त ज्ञान दिन नसकेको कारण विद्यार्थीले यस्तो समस्या भोग्नुपरेको बताए।
परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक विष्णुबहादुर द्वारेले विद्यार्थीले आफूले प्राप्त गरेको नम्बरबाट सन्तुष्ट नभएका कारण पुनर्योग गराउनेको सङ्ख्या बढेको बताउँदै कतिले पुनर्याेगका निवेदन दिए भन्ने यकिन नभएको जानकारी दिए। उनले नतिजा प्रकाशनको हतारले गर्दा पनिकाबाट सामान्य गल्ती हुने गरेको स्वीकार गर्दै कुन विषयमा बढी असफल भएको भन्ने अझै यकिन नभएको बताए। उनका अनुसार अहिलेसम्मको भीड र विद्यार्थीको चासोलाई हेर्दा गणितमा धेरै असफल हुनेको सङ्ख्या बढी भएको हुनसक्ने अनुमान गरे।
कार्यालयका अनुसार यस वर्ष नियमिततर्फ १ लाख ७३ हजार ४ सय ३६ जना पास भएका थिए। यस वर्षको एसएलसी परीक्षामा ५ लाख ४८ हजार २ सय ४८ जना परीक्षार्थी सहभागी भएका थिए। कार्यालयका अनुसार १८ हजार ११० परीक्षार्थी विशिष्ट, ८३ हजार ६ सय ३७ जना प्रथम श्रेणीमा पास भएका छन् भने ६७ हजार ९ सय ४२ दास्रो र ३१ हजार ७ सय ४७ जना विद्यार्थी तेस्रो श्रेणीमा पास भएका छन्।
|