कैलालीमा चुनावी प्रचारप्रसार
धनगढी, ४ असार। संविधानसभाको उपनिर्वाचनमा प्रतिस्पर्धी नेपाल मजदुर किसान पार्टीले कैलाली क्षेत्र नं. ६ मा विभिन्न गतिविधिसाथ जनताबीच प्रचारप्रसार गरिरहेको छ।
यसैबीच धनगढी नगरपालिका वडा नं. २ शान्तिनगरमा घरदैलो कार्यक्रम गरी नेमकिपाको मादल चिन्हमा मतदान गर्न अनुरोध गरेको पार्टी कैलाली जिल्ला समितिले
जनाएको छ।
जनताको घरदैलोमा पुगी अपिल एवम् पर्चा वितरण गरिएको पार्टी जिल्ला अध्यक्ष खगेन्द्रबहादुर शाहीले बताउनुभयो। धनपा वडा नं २ कै नवदीप टोलमा जनभेला गरिएको छ।
भेलामा पार्टी अध्यक्ष शाहीले समाजवादउन्मुख संविधानको निम्ति नेमकिपाले सङ्घर्ष गरिरहेको स्पष्ट पार्नुभयो। नेमकिपाका उम्मेदवार रमेशकुमार रावलले निर्वाचनलाई जनताको राजनीतिक चेतना उकास्ने माध्यमको रूपमा लिएको बताउनुभयो।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य रत्नबहादुर शाहीले कामदार वर्ग सङ्गठित भई समाजवादी क्रान्ति सम्पन्न गर्ने बताउनुभयो।
भेलाले अशोक मण्डलको संयोजकत्वमा ७ सदस्यीय नेक्रामजदुर सङ्घ गठन गरेको छ।
त्यस्तै नेपाल मजदुर किसान पार्टी, निर्वाचन परिचालन समिति, कैलाली क्षेत्र नं ६ को आयोजनामा बुधबार धनगढी नगरपालिकामा चुनावी गतिविधि सञ्चालन गर्यो। बुधबार अदालतचोकदेखि एलएनचोकसम्म घरदैलो कार्यक्रम भयो।
त्यस्तै धनपा वडा नं २ सरस्वतीनगरमा स्थानीय जनताको भेला भयो। कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कैलाली जिल्ला अध्यक्ष खगेन्द्रबहादुर शाही, नेमकिपाका उम्मेदवार रमेशकुमार रावल, नेक्रामजदुर सङ्घका केन्द्रीय सदस्य रत्नबहादुर शाहीले आफ्नो भनाइ राख्नुभएको थियो।
भेलाबाट रवीन्द्र लामा (तामाङ) को संयोजकत्वमा ७ सदस्यीय नेक्रायुसङ्घ धनपा वडा नं २ सरस्वतीनगर टोल एकाइ समिति गठन गरिएको छ।
|