पूर्व बजेट तयारी छलफल टुङ्गियो
काठमाडौं, ४ असार। व्यवस्थापिका–संसदको बैठकमा आव २०७१/७२ को विनियोजन विधेयक पेस गर्नु पूर्वबजेट तयारीका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) बारेको छलफल बुधबार टंुगिएको छ।
छलफलमा चाग लिंदै सभासद्हरूले अशिक्षा, कृषि, गरिबी रोजगारीको अभाव नै मुख्य समस्या हुन् तर सरकारले शिक्षामा १७ प्रतिशतबाट बजेट घटाउँदै लैजानु, कृषिप्रधान देशमा गत वर्ष रु. नौ अर्बको चामल आयात हुनु र व्यापार घाटा बढ्नु चिन्ताको विषय भएको उल्लेख गरे।
त्यस्तै आर्थिक समृद्धिको उपाय पहिल्याउने गरी बजेट तर्जुमा गरिनुपर्ने, ५० आंै लाख युवालाई स्वदेशमै रोजगार दिने योजना बजेटमा ल्याइनुपर्ने, कृषिक्षेत्रको दयनीय अवस्था सुधार्न ठोस योजना ल्याइनुपर्ने, सहकारी क्षेत्रलाई व्यवस्थित गरिनुपर्ने, जलस्रोतको अत्यधिक उपयोग गरी आयआर्जनको बाटो खोजी गरिनुपर्नेमा जोड दिए।
साउनमा बजेट आएर असोजमा मात्र काम हुने अवस्था अन्त्य गर्न जोड दिंदै लागत सहभागिताको नाममा वित्तीय सहयोग गर्ने गर्दा भ्रष्टाचार बढ्ने भन्दै सभासद्हरुले यसलाई रोक्नुपर्ने, बजेटमा उल्लेख हुने सपनालाई यथार्थमा परिणत गराउन पहल हुनुपर्ने र लोककल्याणकारी मान्यतामा आधारित समाजवाद उन्मुख बजेटमा बहस हुनुपर्ने बताए। साथै विदेशिएका लाखांै नागरिकको आम्दानीलाई उपयोगमा ल्याउन नसकिएको उल्लेख गर्दै उहाँले कृषि, जलस्रोत र पर्यटनमा लगानी गर्न सुझाव दिए।
सभासद्हरूले चुरेे र महाभारत संरक्षणका लागि पहल हुनुपर्ने, ठूल्ठूला जलाशयबाट विद्युत् उत्पादनको ठोस योजना ल्याइनुपर्ने र स्वास्थ्य बिमाको कार्यक्रम लागू गर्नुपर्ने सुझाव दिए।
कृषि तथा पशु विकासमा ध्यान दिनुपर्ने, पाँच विकास क्षेत्रमा मल उद्योग स्थापना गर्नुपर्ने, निजी क्षेत्रलाई कृषिमा प्राथमिकता दिनुपर्ने र ज्येष्ठ नागरिकको भत्ता वृद्धि गर्नुपर्ने माग गरे।
छलफलमा सभासद्हरू आनन्दप्रसाद ढुंगाना, गणेशमान गुरुङ, गिरिराजमणि पोखरेल, चन्द्रकान्त भण्डारी, गणेश पहारी, भक्ति पाण्डे, प्रेमबहादुर सिं, पशुपति चौलागाईं, रुपा महर्जन, गगन थापा, सिद्धिलाल सिंहलगायतले भाग लिनुभएको थियो।
त्यस्तै संविधानसभा बैठकमा राज्यको शासकीय स्वरुपका विषयमा छलफल जारी रहेको छ। संविधानसभा बैठक बिहीबार बिहान ११ बजे बस्नेछ।
|