एकतीस महिला हिंसाका घटनामा दसको हत्या
काठमाडौं, ५ असार। मुलुकभर जेठ महिनामा महिला हिंसाका ३१ घटना भएको र त्यसमध्ये १० जनाको हत्या भएको देखिएको छ।
मानव अधिकार सञ्चार प्रतिष्ठान नेपालले जेठ महिनाभर गरेको सञ्चार अनुगमनअनुसार १० महिलाको हत्या भएको थियो भने बलात्कार र बेचबिखनमा ६/६ महिला परेका थिए। यस्तै, हत्या प्रयासमा चार महिला, घरेलु हिंसा, बन्धक, घाइते, बोक्सीको आरोप तथा यौन दुर्व्यवहारमा एक/एक जना महिला परेका छन्।
राष्ट्रिय दैनिकहरूमा गरिएको सञ्चार अनुगमनका क्रममा आफ्नै श्रीमान्सहित हेटौंडामा एक महिलाको सामूहिक बलात्कार भएको देखिएको छ।
यस महिनामा हिंसामा परेका बालबालिकासँग सम्बन्धित २० वटा घटना पहिचान गरिएकोमा १० बालिका बलात्कृत भएका थिए। कुटपिटमा पाँच बालबालिका, हत्या प्रयासमा तीन बालबालिका र यौन दुर्व्यवहारमा दुई बालिका परेका थिए। यसैगरी, बन्दुक तथा अन्य हतियारको प्रयोगबाट भएको हिंसामा नौ पुरूष र ६ महिला प्रभावित भएका थिए। प्रभावित हुनेमा तीन पुरूष र तीन महिलाको मृत्यु भएको थियो।
|