बर्दियामा नेमकिपाको प्रचार व्यापक
वर्दिया, ५ असार। उपनिर्वाचन प्रचारको अन्तिम दिन बिहीबार बर्दिया क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीले विभिन्न ठाउँमा सभा तथा घरदैलो कार्यक्रम गर्यो। चुनाव प्रचारको क्रममा उत्तरभकारी, वलेवा, हाउपुर, बाँसगडी, ककौरा, लक्ष्मणालगायतका गाविसमा पर्चा वितरण तथा घरदैलो कार्यक्रम भयो। बिहीबारै लक्ष्मणा र बाँसगडीमा चुनावी सभा सम्पन्न भयो। कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य हरिसुन्दर बासीले शासक दलका देशघाती गतिविधिविरूद्ध असार ८ को निर्वाचनमा नेमकिपालाई मतदान गर्न आह्वान गर्नुभयो।
सभामा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष रवीन्द्र ज्याख्वले समाजवादउन्मुख संविधानले मात्र मजदुर र किसानको हित गर्ने भएकोले नेमकिपालाई मतदान गर्न अनुरोध गर्नुभयो।
नेमकिपाका उम्मेदवार हरिलाल न्यौपानेले शासक पार्टीका स्थानीय नेताहरूसमेत भ्रष्टाचारी भएकोले परिवर्तनको निम्ति नेमकिपालाई मतदान गर्न अनुरोध गर्नुभयो। बिहीबारै बर्दियाको गुरूबाबा एफएममा प्रत्यक्ष प्रसारित कुराकानीमा नेमकिपाले संविधानसभामा समाजवादउन्मुख संविधानको निम्ति सङ्घर्ष गर्ने उम्मेद्वार न्यौपानेले बताउनुभयो।
उपनिर्वाचन असार ८ गते बिहान ७ बजेबाट सुरू हुनेछ। यसपटकको निर्वाचनमा विद्युतीय मतदान हुने बताइएको छ।
|