अध्यक्ष बिजुक्छें र प्रम ओलीबीच भेट
काठमाडौं, २० जेठ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) र एमाले अध्यक्ष एवं प्रम केपी शर्मा ओलीबीच बुधबार अपरान्ह बालुवाटारमा भेटघाट भयो।
भेटघाटमा अध्यक्ष बिजुक्छेंले भूकम्प पीडितहरूको पुनःस्थापना र पुनःनिर्माण कार्य तदाकतासाथ अघि बढाउनुपर्ने विचार राख्दै देशमा रासायनिक मल कारखाना स्थापना गर्नुपर्नेबारे ध्यानाकर्षण गर्नुभयो।
अध्यक्ष बिजुक्छेंले तलब वृद्धि प्रगतिशील ढङ्गले नभएकोमा सरकारको आलोचना भएको उल्लेख गर्दै प्रगतिशील कर प्रणालीले राजश्व आम्दानी बढ्ने विचार राख्नुभयो।
प्रम ओलीले देशको सार्वभौमिकता रक्षा र स्वाधीनताको लागि अडान लिइरहेको बताउनुभयो।
भक्तपुर नगरपालिकाद्वारा स्थापना र सञ्चालन हुने ख्वप विश्वविद्यालयको विधेयक पारित गर्न र भक्तपुर सल्लाघारी तीनकुनेस्थित नेपाल ट्रष्टको जग्गामा ख्वप विश्वविद्यालयको शिक्षण अस्पतालसहित मेडिकल कलेज स्थापना गर्नु देश र जनताको
हितमा हुनेबारे अध्यक्ष रोहितले
बताउनुभयो।
सो भेटघाटमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल र मजदुर प्रतिनिधि कृतिका प्रजापतिको पनि उपस्थिति थियो। भेटघाटको अन्त्यतिर अर्थमन्त्री विष्णु पौडेलको पनि सहभागिता थियो।
|