आर्थिक विकासको पूर्वाधारबारे प्रवचन
भक्तपुर, २२ जेठ २२। इञ्जिनियर्स समाज नेपालको आयोजनामा आर्थिक विकासका लागि पूर्वाधार विषयक प्रवचन कार्यक्रम ख्वप ई. कलेजको सभाकक्षमा शनिबार सम्पन्न भयो।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नाराणणमान बिजुक्छे (रोहित) ले प्राविधिकहरूले देशलाई राजनैतिक ढङ्गबाट नहेरेसम्म देश अगाडि नबढ्ने बताउनुभयो। नेपाल अहिले पनि विश्व राजनीतिको रणनैतिक विन्दु बनेको चर्चा गर्दै उहाँले सरकारले शत्रुलाई फाइदा पुग्ने कुराहरू पारदर्शी गर्न जरुरी नहुने बताउनुभयो। नेपालमा पुल बन्नुभन्दा अगावै ठेकेदारहरूले घर बनाई सक्ने अवस्था रहेको हुनाले पूर्वाधार विकास पछाडि परेको बताउँदै उहाँले देशका योजनाकारहरूलाई विज्ञहरूको कक्षा आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा स्रोतव्यक्ति एवं डा. सूर्यराज आचार्यले नेपालमा भू―उपयोगसँगै भू–विकासको नीति पनि आवश्यक रहेको बताउनुभयो। देशका मन्त्री तथा सचिवहरू एनजीओ आईएनजीओले बोलाउने तारे होटलका कार्यक्रमहरूमा व्यस्त रहने तर विज्ञहरूलाई समय दिन नचाहने भएकोले आज देशको विकास खोक्रो रुखमा बाहिरबाट पालिस लाउने जस्तो मात्र बनिरहेको बताउनुभयो।
नेपालमा पुनर्निर्माणको नाममा एनजीओ आइएनजीओहरूले वन तथा वातावरणमा परेको क्षतिलाई मात्रै लिएर २५ औं अरब रकम सङ्कलन गरिरहेको चर्चा गर्दै सरकारी निकायका कर्मचारीहरू ती एनजीओ आईएनजिओअन्तर्गत काम त गरिहरेको छैन भनी उहाँले प्रश्न गर्नुभयो।
पूर्वाधार विकासका लागि राष्ट्रिय नीति आवश्यक रहेको , फास्ट ट्रयाकको पीपीए सान्दर्भिकता नभएको तथा विकास निर्माणको कार्यका लागि कुनै पनि बहाना बनाएर छुट दिने कार्यलाई रोक्नुपर्ने उहाँले बताउनुभयो।
कार्यक्रममा प्रा. डा. जगन्नाथ श्रेष्ठले देशमा उत्पादन हुने प्राविधिक तथा विज्ञहरूलाई सही ढङ्गमा परिचालन गर्नुपर्ने बताउनुभयो। उहाँले विश्व बैङ्कजस्ता दातृ निकायहरूले नेपालजस्तो विकासोन्मुख देशहरूलाई प्रयोगशालामात्रै बनाउने र वास्तविक विकास र प्रगतिमा दोहोर्याउन नदिने
बताउनुभयो। प्राविधिकहरूले पनि योजना तथा नीति निर्माणका क्रममा अडान लिन सकेको खण्डमा मात्रै देशलाई घात नहुने उहाँले बताउनुभयो।
कार्यक्रममा पूर्व ऊर्जा सचिव ई. शीतलबहादुर रेग्मीले पूर्वाधारको विकासविना कुनै पनि देश विकसित नभएको बताउँदै नारायणगढ―हेटौडा फास्ट ट्रयाक नेपाल आफैले बनाउन सक्छ भने काठमाडांै―निजगढ नेपाली आफैले बनाउने सक्ने बताउँदै फास्ट ट्रयाकको उपयोगिताबारे छलफल गर्नुपर्ने बताउनुभयो।
समाजका अध्यक्ष इ. रविन्द्र फोजूको सभापतित्वमा सम्पन्न उक्र कार्यक्रममा इ. अनिता प्रजापतिले पनि बोल्नुभएको थियो।
|