नेपाल क्रान्तिकारी युवा सङ्घको चौंथो काभ्रे जिल्ला सम्मेलन
काभ्रे, २२ जेठ। नेपाल क्रान्तिकारी युवा सङ्घको चौंथो काभ्रे जिल्ला सम्मेलन शनिबार बनेपामा सम्पन्न भयो।
सम्मेलनको उद्घाटन गर्दैहुँदै नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभाग प्रमुख एवं सांसद प्रेम सुवाले उमेरले मात्र नभई नयाँ विचार बोक्नेहरु युवा हुने बताउनुभयो।
उहाँले वर्तमान व्यवस्था पूँजीवादी व्यवस्था भएको बताउँदै पूँजीवादमा स्वदेशी र विदेशी पूँजीले कामदार वर्गका जनताको शोषण गरिने, भ्रष्टाचार कमिसनखोरी मौलाउने, युवाहरुलाई जाँड रक्सी खुवाएर पथभ्रष्ट पारिने, कालोबजारी बढ्ने सर्वसाधारण जनता खान नपाएर मर्नुपर्ने स्थिति निम्तिने चर्चा गर्नुभयो।
पूँजीवादको विकल्प समाजवादी व्यवस्था भएकोले समाजवादले सबैलाई समान राजनीतिक, सामाजिक र आर्थिक अधिकार दिने, व्यक्तित्व विकासमा समान अवसर, निःशुल्क शिक्षा र स्वास्थ्योपचारको बन्दोबस्त हुने, शोषण अन्त्य गरिने, व्यक्तिगत सम्पतिमा सीमा तोकिने बताउनुभयो। पूँजीवादमा सत्ताको निम्ति पार्टी–पार्टीबीच मात्र नभई एउटै पार्टीभित्रका गुट गुटबीच कुकुर झगडा हुने दृष्टान्त प्रस्तुत गर्दै सांसद सुवालले युवाहरुमाथि समाजवादबारे व्यापक प्रचारप्रसार पुर्याउन आवश्यक छ भन्नुभयो।
सरकारले संसदमा प्रस्तुत गरेको बजेटमा स्थानीय निकायको निर्वाचन गराउने, लोडसेडिङ्ग अन्त्य गर्ने, मेलम्ची खानेपानी आयोजना पूरा गर्ने, कृषिमा आत्मनिर्भर बन्ने घोषणा भए पनि सरकारको अस्थिरता र लाचारिपनका कारण त्यो पूरा नहुने वाचामात्र हुने सांसद सुवालले बताउनुभयो।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाहीले युवाहरु विदेश पलायन हुँदा देश वृद्धवृद्धा र बालबच्चाको मात्र देशजस्तै भएको र देशको खेतबारी बाँझो भएको बताउनुभयो।सेना र लडाकु बन्दैमा कोही कम्युनिष्ट र देशभक्त नहुने बताउँदै विचारविहीन पूर्व माओवादी लडाकुहरु अहिले विभिन्न देशमा पलायन भएको औंल्याउनुभयो।
पूँजीवादी व्यवस्थाको सरकारमा जाने कम्युनिष्टहरु सच्चा कम्युनिष्ट नहुने बताउँदै उहाँले जनता सचेत र सङ्गठित नभएसम्म समाजमा आमूल परिवर्तन आउँदैन भन्नुभयो।
कार्यक्रममा नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले सिद्धान्तले पोख्त युवाले मात्र सही दृष्टिकोण साथ जनताको सेवा गर्न सक्ने बताउँदै सैद्धान्तिक अध्ययन र छलफलमा जोड दिनुभयो।
कार्यक्रममा नेमकिपा काभ्रे जिल्ला समितिका सल्लाहकार नारायणबहादुर दुवाल, नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश थुसा, नेक्रामहिला सङ्घ काभ्रे जिल्ला समितिका अध्यक्ष कान्ति अवा, नेक्राशिसङ्घ काभ्रेका अध्यक्ष प्रितमबहादुर तामाङ, नेक्रामजदुर सङ्घ काभ्रेका अध्यक्ष पूर्णसिंह वाइवा, नेक्राकिसङ्घ काभ्रेका अध्यक्ष ऋषिराम दुलाल, नेक्रासांसङ्घ काभ्रेका अध्यक्ष सूर्य वाइवा र नेक्राविसङ्घ काभ्रेका अध्यक्ष तारा तामाङले पनि शुभकामना मन्तव्य राख्नुभयो।
नेक्रायुसङ्घ चौथो जिल्ला सम्मेलन तयारी समितिका संयोजक धनबहादुर तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा समितिका कर्म वाइबा र ओमप्रसाद मानन्धरले पनि बोल्नुभएको थियो।
सम्मेलनको बन्द सत्रले ज्ञानेन्द्र डंगोलको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति निर्वाचित गर्यो।
सम्मेलनको बन्द सत्रले तयारी समितिद्वारा प्रस्तुत प्रतिवदेन परिमार्जन सहित पारित गर्नुका साथै भावी नीति तथा कार्यक्रम पारित गर्यो।
नवनिर्वाचित जिल्ला समितिलाई बन्द सत्रको अध्यक्ष मण्डलका सदस्यहरु नेमकिपा काभ्रे जिल्ला अध्यक्ष कृष्णकुमार वैद्य, सल्लाहकार नारायणबहादुर दुवाल र नेक्रायुसङ्घका केन्द्रीय सहसचिव पाण्डव सुवालले बधाईज्ञापन गर्नुभयो। |