सङ्गीतकार गुरुङको स्वास्थ्यस्थिति गम्भीर
काठमाडौं, २४ जेठ। राष्ट्रिय गानका सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति गम्भीर र स्थिर रहेको छ।
भोजन नली र रक्तचापलगायतका समस्यासँग जुधिरहनुभएका गुरुङको केही दिनदेखि ग्रान्डी अस्पतालमा उपचार भइरहेको छ।
सो अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेका अनुसार उहाँको अवस्था निकै नाजुक रहेको र औषधिको आधारमा उहाँको स्वास्थ्यस्थिति स्थिर राखिएको जानकारी दिनुभयो।
डा. पाण्डेले भन्नुभयो – “स्वास्थ्य अवस्था निकै नाजुक भए पनि औषधिका आधारमा स्थिर रहेको छ। राम्रो हुन्छ र घर फर्किहाल्नुहुन्छ भन्ने अवस्था यकिन गर्नसक्ने अवस्था छैन। कृत्रिम श्वासप्रश्वास चलाइएको छ।”
सङ्गीतकार गुरुङका छोरा किशोर गुरुङले उहाँको मुटुमा समस्याको चुनौती गरिरहनुभएको र अरु अङ्गहरू ठीक रहेको परीक्षणले देखाए पनि समग्रमा स्वास्थ्यस्थिति गम्भीर देखिएको छ भन्नुभयो।
राष्ट्रिय गानका सङ्गीतकार गुरुङको स्वास्थ्यस्थिति बुझ्न र स्वास्थ्यलाभको कामना गर्न उहाँका आफन्तहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ता, गीत–सङ्गीत क्षेत्रका स्रष्टाहरू ग्रान्डी अस्पताल पुग्नुभएको छ।
|