भक्तपुरका सम्पदाको पुनःनिर्माणबारे विज्ञबीच अन्तरक्रिया
भक्तपुर, २५ जेठ। गत वर्ष वैशाख महिनाको भूकम्पबाट भत्किएका सम्पदाको पुनःनिर्माणबारे विज्ञबीच अन्तरक्रिया भएको छ।
भक्तपुरका सम्पदाको पुनःनिर्माणबारे मङ्गलबार पुरातत्त्वविद्, संस्कृतिवीद, निर्माण विशेषज्ञ एवम् सरोकारवालाबीच भएको अन्तरक्रियामा विज्ञहरूले भक्तपुरको मौलिक शैलीमा पुनःनिर्माण हुनुपर्नेमा जोड दिनुभयो।
भक्तपुरको दरवार क्षेत्रको उत्खनन् गरी पुनःनिर्माण गर्ने र त्यसको निम्ति दरवार क्षेत्रमा रहेका विद्यालय तथा प्रशासनिक भवनहरू स्थानान्तरणबारे केन्द्रित भई छलफल भएको थियो।
भक्तपुर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विश्व सम्पदा सूचीमा परेका भक्तपुरका ऐतिहासिक एवम् पुरातात्त्विक क्षेत्रको उत्खनन् गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले ९९ चोक रहेको क्षेत्र उत्खनन् गरिसकेपछि त्यहाँ पुरानो भवन बनाउनै पर्छ भन्ने नभएको विचार राख्नुभयो। उहाँले भन्नुभयो, 'हिजो के थियो भन्ने बुझ्न पनि सम्पदा क्षेत्रको उत्खनन् र संरक्षण गर्नुपर्छ।'
सम्पदा क्षेत्रका निजी घरहरू संरक्षणको निम्ति अधिग्रहण गर्नुपर्ने हुनसक्ने भन्दै उहाँले सम्पदा उत्खनन् गर्ने विषयको अध्ययन गर्नुपर्ने विचार राख्नुभयो।
पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले भक्तपुरको ९९ चोकको खोजी हुनुपर्ने र सांस्कृतिक नगर बनाउन सरकारको बजेट आउनुपर्ने धारणा राख्नुभयो। उहाँले दरबार क्षेत्रका पुराना तस्विर तथा चित्रको आधारमा उत्खनन् कार्य गर्न सकिने र जिल्ला प्रशासनिक कार्यालयहरू सार्नु नै राम्रो हुने जिकिर गर्नुभयो।
गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवालीले भक्तपुरलाई सांस्कृतिक नमुना नगर बनाउन सकिने विचार राख्दै दरबार क्षेत्रबाट विद्यालय र कार्यालयहरू सार्नु उपयुक्त भएको उल्लेख गर्नुभयो। उहाँले विद्यालय र कार्यालयको निम्ति उपयुक्त ठाउँमा सार्नुपर्ने धारणा राख्नुभयो।
काठमाडौं उपत्यका विकास प्राधिकरणका जिल्ला आयुक्त नवराज प्याकुरेलले संस्कृतिको रक्षा गर्ने जनता विस्थापित हुने गरी पुनःनिर्माण गर्न नहुने बताउनुभयो।
पुरातत्त्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले नगरलाई मौलिक शैलीमा पुनःनिर्माण गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो, 'विदेशी आओस् नआओस् नगरलाई मौलिक शैलीमा पुनःनिर्माण गर्नैपर्छ।'
पुरातत्त्व विभागका अर्का पूर्वमहानिर्देशक कोषप्रसाद आचार्यले सम्पदाको संहिता नबिग्रने गरी सम्पदा क्षेत्रको पुनःनिर्माण हुनुपर्ने तर्क गर्नुभयो। विश्व सम्पदा क्षेत्रमा पनि शैक्षिक संस्था चल्नसक्ने उहाको विचार थियो।
संरक्षणविद् सूर्यभक्त सांगाछेंले मल्ल, शाह वा राणा कालको शैलीको सम्पदामध्ये कुन छानेर पुनःनिर्माण गर्ने भन्नेबारे युनेस्को वाधक नबन्ने उल्लेख गर्नुभयो। उहाले भन्नुभयो, 'भूकम्पले सम्पदा संरक्षणको ठूलो मौका दिएको छ।'
संस्कृतिविद तेजेश्वर ग्वंगले पुनःनिर्माणको जिम्मेवारी सरकारले नै लिनुपर्ने धारणा राख्नुभयो। सांस्कृतिक पुनःउत्थानको निम्ति पुराना चित्रअनुसार पुनःनिर्माण गर्न सकिने उहाको तर्क थियो।
इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले उत्खनन्ले विनास हुनसक्छ तर वैज्ञानिक तरिकाले काम गरे नयाँ सृजना पनि हुन्छ भन्नुभयो। उहाले सांस्कृतिक नगरको भूगोल निर्धारण गर्नुपर्ने बताउनुभयो।
सम्पदाप्रेमी रवीन्द्र पुरीले भक्तपुर पुरातत्वविद्हरूको तीर्थस्थल हुनसक्ने भनाइ राख्दै भक्तपुर बने अरुतिरको निम्ति अनुकरणीय हुने उल्लेख गर्नुभयो।
संरक्षणविद् भरत शर्माले आफ्नै मानिस र आफ्नै सामानबाट पुनःनिर्माण दीगो हुने विचार राख्नुभयो।
प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले सम्पदा क्षेत्रका भवनहरू स्थानान्तरण गर्नेबारे पर्याप्त छलफल गर्नुपर्ने धारणा राख्नुभयो।
दरबार क्षेत्रमा रहेका पद्म, विद्यार्थी निकेतन र शारदा स्कूल सार्नेबारे सम्बन्धी विद्यालयका प्राचार्यहरूले उत्खनन्को निम्ति संस्था बाधक नहुने बचनबद्धता व्यक्त गर्नुभयो। शारदाका प्राचार्य उद्धव सुजखु, पद्म स्कूलका प्राचार्य राम हाडा र विद्यार्थी निकेतन स्कूलका प्राचार्य रजनी जोशीले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो।
कार्यक्रममा ख्वप इञ्जिनियरिङ कलेजका उपप्राचार्य इञ्जिनियर रजनी जोशी र इन्जिनियर मञ्जित शाक्यले पुनःनिर्माणको निम्ति कलेजले आवश्यक जनशक्ति दिनसक्ने विचार राख्नुभयो।
|