निर्वाचन क्षेत्र विकास कार्यक्रम योजनाहरूको अनुगमन सुरू सांसदलाई जनताले समस्या देखाए !
भक्तपुर, २७ जेठ। निर्वाचन विकास कार्यक्रम तथा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत छनोट भई कार्यान्वयनमा रहेका योजनाको अनुगमन बिहीबार भक्तपुर क्षेत्र नं. १ मा भएको छ।
अनुगमनमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल, अनुराधा थापामगर, भक्तपुर क्षेत्र नं. २ का सांसद रामेश्वर ढुङ्गेल, नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठ, भक्तपुर जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइराला हुनुहुन्थ्यो।
त्यस्तै भक्तपुर क्षेत्र नं. १ का सांसद नारायणमान बिजुक्छें (रोहित) का प्रतिनिधि सूर्यभक्त त्वाती, सांसद केदार सञ्जेलका प्रतिनिधि बचन देउजा, जिल्ला विकास समितिका डिभिजन इञ्जिनियर माधव, प्राविधिक
इ. मदन आलेलगायत पत्रकारहरूको उपस्थिति रहेको
थियो।
नगरकोट नगरपालिका वडा नं. १२ शान्ति उद्यान संरक्षण तथा व्यवस्थापन र शौचालय निर्माण गर्न रू. १० लाख रकम विनियोजित भई स्थानीय जनताको सहयोगमा निर्माण कार्य भइरहेको उपभोक्ता समितिका अध्यक्ष धनबहादुर तामाङ (थिङ) ले जानकारी दिनुभयो।
यसैगरी नगरकोट नपा वडा नं. १० ढुङ्गे साँघुदेखि बाल्मिकेश्वर मन्दिर जाने बाटोमा कालोपत्रे गर्न रू. १० लाख रकम विनियोजित भई ३ मिटर चौडाइ, १८५ मिटर लम्बाइ कालोपत्रे भएको जानकारी उपभोक्ता समितिका अध्यक्ष बाबुकाजी नायजूले दिनुभयो।
नगरकोट नपा वडा नं. ३ स्थित देवी उच्च मावि अगाडिको बाटो सुधार तथा पहिरो नियन्त्रण गर्न टेवा पर्खाल निर्माण गर्न रू. १२ लाख रकम विनियोजन भई लगत इस्टिमेटअनुसार निर्माण सम्पन्न भएको उपभोक्ता समितिका सदस्य रामभक्त बासुकलाले बताउनुभयो।
नगरकोट नपा वडा नं. ५ को राधाकृष्ण मन्दिरदेखि रञ्जितकार टोल हुँदै आरूबारी सडक निर्माण गर्न रू. १४ लाख रकम विनियोजन गरी ८० मिटर लम्बाइ, ४.५ मिटर चौडाइ बाटोको ढलान सम्पन्न र ६३५ मिटर लम्बाइ ३ मिटर चौडाइ बाटोमा ग्रावेल कार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष केशवप्रसाद तिमिल्सिनाले बताउनुभयो।
नगरकोट नपा वडा नं. ३ को फैढोका निमावि अगाडि पर्खाल निर्माण गर्न रू. ७ लाखमा निर्माण भइरहेको निर्माण कार्यको पनि अनुगमन गरियो।
यसैगरी चाँगुनारायण नपा वडा नं. ८ को नगरपालिका कार्यालयबाट गामढोका जाने सडकमा ढलान गर्न रू. १० लाख रकम विनियोजन भई स्थानीय जनताको सहयोगमा ११२ मिटर लम्बाइ, ४.५ मिटर चौडाइको बाटोमा ढलान कार्य सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष जगतलाल श्रेष्ठले बताउनुभयो।
अनुगमन समितिका सांसदहरूलाई स्थानीय जनताले खानेपानी, सडक, सिंचाइ, पहिरो नियन्त्रण, सार्वजनिक जग्गा संरक्षणको समस्याबारे अवगत गराएका थिए।
|