चीनको आर्थिक विकास रोक्न पश्चिमाहरूको जालझेल
भक्तपुर, २९ जेठ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले तीव्रगतिमा भइरहेको चीनको आर्थिक विकासलाई रोक्न पश्चिमा साम्राज्यवादीहरू चीनलाई सीमा विवाद र युद्धमा फसाउन जालझेल गरिरहेको बताउनुभएको छ।
पार्टीको भ्रातृ सङ्गठन नेपाल क्रान्तिकारी युवा सङ्घ केन्द्रीय समितिद्वारा शुक्रबार आयोजित 'चीनका प्रसिद्ध युद्ध र विद्रोहहरू' पुस्तकको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बिजुक्छेंले भन्नुभयो, 'यदि परिस्थितिमा फेरबदल नभएमा सन् २०२१ भित्र चीन विश्वकै ठूलो अर्थतन्त्र भएको देश हुनेछ। संरा अमेरिका र पश्चिमा साम्राज्यवादीहरू चीनको त्यस विकासलाई रोक्न उद्यत् छन्।'
इतिहासमा १४ साम्राज्यवादी देशको भागवण्डामा परेको र अर्धउपनिवेश बनेको चीन इतिहासबाट शिक्षा लिई अघि बढिरहेको र चिनियाँ विशेषताको समाजवादको निरन्तर विकासमा लागेको चर्चा गर्दै उहाँले पूँजीवादी प्रकाशन र सञ्चारमाध्यमको दुष्प्रचारबाट सजग हुनुपर्छ भन्नुभयो।
कुनै देशको सरकार राजनैतिक रूपले कमजोर र अदूरदर्शी भएमा देशै डुब्ने बताउँदै अध्यक्ष बिजुक्छेंले नेपालका शासकहरूले भारतले राखेका शर्तहरू मानिदिंदा देशलाई ठूलो अप्ठ्यारो पर्ने गरेको बताउनुभयो।
मजदुर आन्दोलनभित्र वर्ग शत्रुका मानिस घुसेको हुने र नक्कली कम्युनिष्ट पार्टीहरूसमेत तयार गर्ने उदाहरण नेपालमै भएको बताउँदै उहाँले युवा कार्यकर्ताहरू शासक वर्गको कुटिल राजनीतिबाट सजग रहनुपर्छ भन्नुभयो।
नेमकिपाका केन्द्रीय सदस्य एवं नेक्रायुसङ्घका केन्द्रीय सल्लाहकार उकेश कवांले चीनको क्रान्ति किसान वर्गमा आधारित सर्वहारावादी क्रान्ति भएको चर्चा गर्दै चीनको किसान आन्दोलनको प्रभाव नेपालको किसान आन्दोलनहरूमा पनि छ भन्नुभयो।
विदेशका विद्रोह र आन्दोलनहरूको सफलता र असफलताबाट पाठ सिकेर स्वदेशमा क्रान्तिको तयारी गर्नुपर्ने बताउँदै उहाँले विभिन्न देशको क्रान्तिबारे अध्ययन आवश्यक छ भन्नुभयो।
सभापतिको आसनबाट विषयप्रवेश मन्तव्य राख्दै नेक्रायुसङ्घका केन्द्रीय अध्यक्ष प्रकाश थुसाले चिनियाँ कम्युनिष्ट पार्टीको बुद्धिमानी नेतृत्वमा चीनले निरन्तर आर्थिक विकास र जनताको जीवनस्तर उकास्नमा ठूलो उपलब्धि हासिल गरिरहेको चर्चा गर्नुभयो।
चिनियाँ नेतृत्वको वैचारिक समृद्धि सांस्कृतिक परिपक्वता विगतका युद्ध, विद्रोह र क्रान्तिहरूको उपज भएको बताउँदै चीनको इतिहासबाट नेपाली युवाहरूले पनि धेरै सिक्न सकिन्छ भन्नुभयो।
कार्यक्रममा सङ्घका राजवीर डंगोल, पाण्डव सुवाल, महेन्द्र बखुन्छे, रामकृष्ण प्रजापति, मीनबहादुर बाटा, हरिसुन्दर सुवाल, रामप्रसाद ग्वाछा, सुरेश बखुन्छे, दिनेश प्रधानलगायतले पुस्तकका विभिन्न विषयहरूमाथि टिप्पणी गर्नुभएको थियो।
|