बालश्रमविरुद्धको विश्व दिवस मनाइँदै
काठमाडांै, जेठ २९। बाल श्रमविरुद्धको विश्व दिवस घरेलु बालश्रम अन्त्य गरौं नाराका साथ बुधबार नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ।
बालश्रमविरुद्ध सामाजिक सचेतना र सरोकार बढाउने उद्देश्यले हरेक वर्ष जून १२ तारिखमा यो दिवस मनाउने गरिन्छ।
राष्ट्रिय श्रमशक्ति सर्वेक्षण प्रतिवेदन २००८ अनुसार १६ लाख बालबालिका श्रमिकका रुपमा कार्यरत छन्। तीमध्ये ६ लाख २० हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न छन्। जोखिमपूर्ण श्रममा रहेका बालबालिकामा पनि झण्डै ६० प्रतिशत बालिका तथा ४० प्रतिशत सङ्ख्या बालकको रहेको छ।
डेढ लाख भन्दा बढी बालबालिका घरेलु श्रमिकका रुपमा कार्यरत रहेको विभिन्न तथ्याङ्कले देखाएका छन्।
नेपाल सरकारले बालश्रम रोक्न तथा समग्र बालअधिकारको संरक्षण तथा सम्बर्द्धनका लागि बालअधिकारसम्बन्धी महासन्धि १९८९, श्रमका लागि न्यूनतम उमेर निर्धारणसम्बन्धी आइएलओ महासन्धी १३८ र निकृष्ट प्रकारको बालश्रम उन्मूलनसम्बन्धी महासन्धि १८२ लाई अनुमोदन समेत गरेको छ।
थुप्रै कानुनी, नीतिगत, र राष्ट्रिय स्तरका कार्यक्रम भएपनि गरिबी, जनचेतनाको अभाव, स्पष्ट कानूनी व्यवस्था र कार्यान्वयनको अभावजस्ता अवरोधका कारण बालश्रम निवारणले उचित लक्ष्य हासिल गर्न नसकेको सरोकारवालाले बताएका छन्।
जीवन निर्वाहका लागि जस्तोसुकै श्रममा संलग्न हुनुपर्ने बाध्यताले बालबालिकाहरु शारीरिक, मानसिक, सामाजिक, नैतिक तथा बौद्धिक समस्यामा पर्ने भन्दै सरोकारवालाले विस्तृत बालश्रम निवारण नीति आवश्यक भएकोमा जोड दिएका छन्।
|