बराहको १३ औं गाउँ सम्मेलन सम्पन्न
दैलेख, ३१ जेठ। नेपाल मजदुर किसान पार्टी वराहको सम्मेलन जेठ २९ गते रतिखोलामा सम्पन्न भयो। कार्यक्रमा पार्टीका केन्द्रीय सदस्य नर्मा गुरुङले नेमकिपा समाजवादमा विश्वास राख्ने पार्टी हो भन्दै यसलाई समाप्त पार्न देशी विदेशी शक्ति लागिपरेको उल्लेख गर्नुभयो। उहाँले नेमकिपाका कार्यकर्ताहरु शत्रुको षड्यन्त्रविरुद्ध चनाखो भई बस्नुपर्ने बताउनुभयो।
पार्टीका पूर्व केन्दीय सदस्य उदयजङ शाहीले हालै बनेको संविधानले नेपालका गरिब, मजदुर र किसानको हितभन्दा पूँजीपति वर्गको सेवा गर्ने बताउनुभयो।
पार्टी जिल्ला कोषाध्यक्ष हस्तबहादुर घलेले नेपाल–भारतसँग भएका असमान सन्धि खारेज गर्नुपर्ने धारणा राख्नुभयो।
कार्यक्रममा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ जिल्ला समितिका सदस्य हस्त गुरुङ, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका पूर्व केस राजकुमार थापा, नेक्राशिसङ्घका प्रेम बीसी, नेमकिपा वराहका श्याम बोहोराले बोल्नुभएको थियो।
१३ औं गाउ सम्मेलन तयारी समितिका संयोजक गगन बीसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा वराहका प्रेम गुरुङले पनि बोल्नुभएको थियो। सम्मेलनले गगनबहादुर बीसीको अध्यक्षतामा १३ सदस्यीय गाउँ समिति चयन गरेको छ।
|