कम्युनिष्ट पार्टीभित्र प्रतिक्रियावादी घूसपैठ भइरहने
भक्तपुर, ३१ जेठ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले सोभियत सङ्घको विकासलाई रोक्न नसकेको हुँदा स्तालिनको विरोध भएको उल्लेख गर्दै त्रोत्स्की मुखले विश्व क्रान्तिको कुरा गर्ने भए पनि उनी अराजकतावादी भएको विचार राख्नुभयो।
ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङका प्राध्यापक र कर्मचारीहरूबीच सम्पन्न 'गुप्त दस्तावेज'हरू पुस्तकको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष बिजुक्छेंले तत्कालीन सोभियत सङ्घका नेताहरू ख्रुश्चेभ र गोर्वाचोभजस्ता संशोधनवादी नेताहरूले कम्युनिष्ट पार्टीलाई विघटनमा पुर्याएको ढाकछोप गर्न स्तालिनको विरोधमा तीव्र प्रचार गरेको बताउनुभयो।
कम्युनिष्ट पार्टीभित्र प्रतिक्रियावादीहरूको घूसपैठ भइरहने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले भारतीय रक्षाका प्रमुख अमेरिकी केन्द्रीय गुप्तचर संस्था (सीआईए) का मान्छे भएको सन् १९७३ मा विलरजले छापेको बताउनुभयो।
उहाँले पदको निम्ति होइन देश र जनताको निम्ति काम गर्ने विचार राख्नुपर्ने उल्लेख गर्दै संरा अमेरिकालगायत पश्चिमा साम्राज्यवादी देशहरूले दक्षिण एसियामा युद्ध फैलाउन भारत र चीनबीच मतभेद फैलाउने काम गर्दै गरेको बताउनुभयो।
दोस्रो विश्वयुद्धको बेला फासिवादलाई संरा अमेरिका, फ्रान्स, बेलायत आदिले खुसामद गरेजस्तै आज भारत–अमेरिका–नाटो देशको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले अमेरिका र भारतबीच सैन्य सम्झौता गरिएको चीनको आर्थिक विकासलाई रोक्नकै लागि भएको बताउनुभयो।
साम्राज्यवादीहरूले चीनको दक्षिण पूर्वी टापुहरुबारे विवाद उठाएर दक्षिण चीन सागरमा धमिलो पानीमा माछा मार्न खोजेको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेंले अमेरिकी साम्राज्यवादको चरित्रमा सुधार नआउने बताउनुभयो।कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं सांसद प्रेम सुवालले देश र जनताविरोधीहरूले देशभक्तहरूलाई कमजोर पार्न अनेक षड्यन्त्र गर्नेबारे 'गुप्त दस्तावेज' को अध्ययनबाट सिक्न पाउने उल्लेख गर्दै भारतले नेपालको संविधान अपूर्ण भएको भनी बेलायत र ईयूसँग संयुक्त वक्तव्य प्रकाशित गरेको र तराई–मधेसमा अवरोध गराई नाकाबन्दी गरेको नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नै भएको उल्लेख गर्नुभयो।
अध्यक्ष सुवालले सरकारका मन्त्रीहरू भारत पुगेर नेपालको राजनीतिक अवस्थाबारे जानकारी गराउनुपर्ने र परिवर्तन संस्थागत गर्न भारतको भूमिका महत्त्वपूर्ण हुने अभिव्यक्ति दिनु सार्वभौम नेपाललाई सुहाउँदो नभएको उल्लेख गर्नुभयो।
सांसद डिल्लीप्रसाद काफ्लेले रूसमा लालसेनाहरूले स्तालिनको नेतृत्वमा जर्मनको हिटलरको फासीवादलाई हराउन सकेको बताउनुभयो। उहाँले प्रतिक्रियावादीहरूले रूसको समाजवादलाई विघटन गर्दा रूस विभाजित हुन पुग्यो र विश्वको स्थिति कमजोर बनेको बताउनुभयो।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माकले 'रूसको इतिहासबारे गरेका झूठा आरोपहरू', ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले 'सोभियत कम्युनिष्ट पार्टीका संक्षिप्त इतिहास' ञ्जनियरिङका प्रा. राजुभाइ त्यातले 'स्तालिनको अन्तिम राजीनामा तथा स्तालिनको निधन' विषयमा बोल्नुभयो।
इ. गजेन्द्रभक्त सुवालले 'रूसको बोल्शेभिक पार्टीको विस्तारित बैठक', इ. रेविका कोजूले 'निकिता ख्रुश्चेभका छोरालाई मारेकै हो त?', इ. सुनयना ग्वाछाले 'जर्मन फासीवादी सेनालाई जारी गरेको १२ आदेश', र इ. मिला शिल्पकारले 'किरोभ हत्याकाण्डबारे मलाई पूर्व जानकारी थियो' विषयमा विचार राख्नुभयो। सो कार्यक्रममा राजन जतिले पनि बोल्नुभएको थियो।
वक्ताहरूले समाजवादको विरोध गर्न स्तालिनको विरोध गरिएको स्पष्ट पार्दै संशोधनवादविरूद्ध स्तालिनको सङ्घर्ष र दोस्रो विश्वयुद्ध र फासीवादविरोधी सङ्घर्षमा स्तालिनको योगदानबारे चर्चा गर्नुभयो। |