झिनो आशा र जीवनको कथाः मार्खेजको अभागी कर्णेल
नीरज
कठिनभन्दा कठिन समयमा पनि मानिसहरू बाँच्छन्। के त्यस्तो शक्ति मानिसमा हुन्छ जसले उनीहरूलाई जस्तै प्रतिकूलताबीच जीजिविषालाई जीवित बनाएको हुन्छ? मार्खेजको मसिनो उपन्यास 'अभागी कर्णेल' पढेपछि धेरैले यो प्रश्नको जवाफ फेला पार्दछ। हजार प्रतिकूलताबीच मानिस बाँच्छन् किनभने उनीहरूसँग आशा भन्ने कुरा हुन्छ।
मार्खेजलाई नेपाली साहित्यका 'प्राधिकार'हरू बौद्धिक र जटिल लेखकको रुपमा चर्चा गर्ने गर्छन्। उनको 'हन्डे्रड एयर्स अफ सोलिटिच्युड' पढेको लेखकलाई 'खतरा पढैया' को भान हुने गरी चर्चा हुने गरेको पाउँछौं।
अनुवाद साहित्यमा नेपाली भाषा त्यत्ति धनी होइन। त्यसमाथि राम्रो अनुवादको त गरीब नै हो नेपाली साहित्य। लेखकले लेखेको भाषाबाट भन्दा अङ्ग्रेजी भाषाबाट अनुदित कृतिलाई नै नेपाली भाषामा अनुवाद गर्नु पर्ने अवस्थाले पनि अनुवादमा जटिलता आएको हो। शाब्दिक अनुवाद भए पनि साँस्कृतिक अनुवादको दुरुहता छिचोल्न नसक्नुको चुनौतीको कारण पनि नेपाली भाषामा अनुवाद भएका कृतिहरू स्याउ हो तर मौसमी स्याउजस्तै रसिलो हुने गरेको छैन।
कवि श्यामलले मार्खेजको 'नो वन राइट्स टु द कोलोनेल' उपन्यासिकाको नेपाली भाषामा अनुवाद गरेका छन्। मार्खेजको बौद्धिक र जटिल लेखनको सापेक्षमा कुरा गर्दा उनको कृतिको नेपाली भाषामा अनुवाद गर्ने निर्णय गरेर श्यामलले 'दुस्साहस' गरेका छन्। तर नेपाली भाषामा मार्खेजको शिलान्यास गरेर श्यामलले उत्तम काम गरेका छन्। यो महत्त्वपूर्ण सुरुवात हो। यसले मार्खेजको बौद्धिकता छिचोल्न नेपाली पाठकहरूलाई एउटा बलियो हौसला दिने निश्चित छ।
तर यसको अर्थ उपन्यासिकाको अनुवादलाई नै उत्कृष्ट भनिएको आशयमा पुग्नु हुन्न। मार्खेजको स्पेनियाली लेखनलाई अङ्गे्रजीमा गरिएको अनुवादलाई नेपाली भाषामा ल्याउनुले धेरै अनुवादिक अन्तर स्वाभाविक हो। त्यसकारण पनि होला नेपाली अनुवाद मौसमी स्याउ जस्तो भने छैन। यो विषयमा उपन्यासिकाको प्रकाशनको बेला ब्रजेश र श्यामलबीच भएको अखवारी कुटाकुट धेरै पाठकहरूले भुलेका छैनन्।
'अभागी कर्णेल' मसिनो कृति हो। एकजना असाध्यै विपन्न र उमेरले पनि ज्यादै गलिसकेको भूतपूर्व कर्णेलको कथा हो– उपन्यासिका। गरिबीको असाध्यै मसिनो र सुक्ष्म व्याख्या गरेका छन् मार्खेजले यो कृतिमा। दमले थलिएकी बुढी, पानी चुहिने छाना, कयौं ठाउँमा टालिएको बाँकी भएको एउटै कोट, कफीका दाना खोसि्रदा खिया पनि झर्ने कफीको बट्टा, एउटै छोरोको पनि हत्या र कमजोर बन्दै गरेका तन, वकिलको वाक्कलाग्दो झन्झटिलो आलटाल, एकजना मानिसको विषादको यो भन्दा कहालीलाग्दो व्याख्या के हुनसक्छ
र?
तर कर्णेलका अनुहारभरिका चाउरीबीच जीवनप्रतिको आशा भने मरेको हुँदैन। उपन्यासिकाको बलियो सन्देश यही हो। जीवनप्रतिको प्रतिकूलताले मानिसलाई जीवनप्रति विरक्त बनाउने गर्दैन। मानिस आशाको झिनो त्यान्द्रोको भरमा पनि बाँच्ने गर्दछ। कर्णेलका यति धेरै प्रतिकूलताबीच कुनै शुक्रबार जहाजबाट आउन सक्ने उसको पेन्सनको चिठ्ठी पत्र र मर्नु अघि छोराले ल्याएको भाले बेचेर भए पनि जीवन चलाउने आशामा टेकेर जीवनप्रति मोह त्यागेको हुँदैन।
उपन्यासिकामा भाले र जहाजमा कुनै दिन आउने पेन्सनको चिठ्ठी आशावादीताको प्रतीक हुन्। कर्णेलको आफ्नो चिठ्ठी पत्र आउनै पर्ने जिकिरलाई हुलाकीले 'त्यसरी आउनै पर्ने कुरा त मृत्यु मात्र हो' भन्ने जवाफबीच पनि आशा मर्दैन कर्णेलको। भालेलाई छोराका साथीहरूले ल्याइदिएको दाना खाएर आफ्नो जीवनयापन गर्नु परेको टीठलाग्दो अवस्थाबीच पनि कर्णेलले भाले जुधाउने महिनामा आफ्नो भाले बेचेर पैसा कमाउने र आफ्ना आवश्यकता पूरा गर्ने जपना उसमा मरेको हुँदैन। कर्णेलको यति सार्हो आशा देखेर पाठकलाई त्यो मूर्ख बुढासँग एकातिर त विछट्टै रिस पनि उठ्दो हो र अर्कोतिर दयाभाव उर्लदो हो जसरी हमिङ्ग्वेको 'ओल्ड म्यान एण्ड सी' को बुढो माझीप्रति भाव उर्लंने गर्दछ।
कोलोम्बियामा भएको गृहयुद्ध र सैनिक शासनको पृष्ठभूमिमा लेखिएको कृतिमा युद्धले पारेको हतास जनजीवनका छापहरू प्रशस्त भेटाउन सक्छौं। 'विगत केही समयदेखि स्वभाविक मृत्यु मरेको पहिलो व्यक्ति', 'झ्यालबाट हेरिरहेका छोराका साथीहरू', 'सिरियालीको बन्द पसल' केही युद्धका साङ्केतिक अभिव्यक्तिहरू हुन्। कर्णेल युद्धको त्यो सुख्खा याममा पनि आशा नमरेको उत्साहको प्रतीक पनि हुन्।
मानिसको जीवन भौतिक समृद्धिले मात्र सुखी हुन सक्तैन। कर्णेलको मित्र साबासको आर्थिक समृद्धिबीच उनले आफूमा पालेको रोगका कारण उनीभित्र कर्णेलमा जतिको पनि जीवनप्रति उत्साह छैन। उसको हतासा उसको कमजोरी हो र कर्णेल जतिसुकै दयालाग्दो भए पनि आशावादीपन उसको सकारात्मक पक्ष हो।
८२ पृष्ठको उपन्यासिका धेरैले एकै बसाईमा पनि पढ्न भ्याउला। धेरैलाई यो कृतिको पठन हेमिङ्ग्वेको ओल्ड म्यान एण्ड सीको पठनजस्तो पनि लाग्ला– अन्तिम वाक्य पढिसके पछि केही बेर मौन बसेर के भनेको होला भनेर सोच्नुपर्ने खालको।
अनुवाद जटिल र असजिलो छ। यो भन्दा उत्तम अनुवाद गर्न सकिन्थ्यो जस्तो लाग्छ। बीच बीचमा स्पिडब्रेकरहरूले यात्रा त्यत्ति रमाइलो बनाउँदैन। तर असजिलै भए पनि गन्तव्य भने पुगेकै हुन्छौं। तर यति भनेकाले कसैले 'त्यसो भए तँ नै गर न त' भन्छ भने सायदै यो चुनौती कसैले सजिलै स्वीकार्ला।
अरु पनि 'दुस्साहसी' श्यामलहरू नेपाली साहित्यले पाइरहने आशासहित।
|