दक्षिण चीन सागर र अन्तर्राष्ट्रिय सुरक्षा
वकार खान कोरभी (पाकिस्तान)
दक्षिण चीन सागरमा चिनियाँ सैनिक अभ्यासलाई लिएर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आतङ्कको हल्लाबाजी गरेर खुबै प्रचारप्रसार गरेका छन्। तर सही निष्कर्षमा पुग्न दक्षिण चीन सागरलाई वस्तुगत दृष्टिकोणबाट बुझ्न र त्यो क्षेत्रमा अन्य शक्तिहरूको बढ्दो चलखेलबारे पनि छलफल गर्न जरुरी छ।
अन्तर्राष्ट्रिय सम्बन्धमा सीमा विवाद सामान्य कुरा हो। संयुक्त राष्ट्र सङ्घका सदस्य देशहरूमध्ये ८० प्रतिशत देशहरूका आफ्ना छिमेकी देशहरूसँग सीमा विवाद छ। रोचक कुरा के हो भने यस्ता असङ्ख्य विवादहरूमध्ये निकै थोरैलाई मात्र पश्चिमको कार्यनीतिक सञ्चार सञ्जालनियन्त्रित सञ्चारमाध्यमहरूले प्रचारमा ल्याउने गरेका छन्। त्यस्ता थोरै विवादहरूमध्ये दक्षिण चीन सागरको विवाद पनि हो।
मेक्सिको खाडीको विषयलाई लिएर संरा अमेरिका, मेक्सिको र क्युवाबीच आ–आफ्नो सामुद्रिक सीमाबारे गम्भीर विवाद छ। विशेषतः सामुद्रिक किनाराको सन्दर्भमा यी तीन देशहरूबीच चर्कै बाझाबाझ छ। त्यस्तै विवाद स्पेन–पोर्चुगल, आयरल्याण्ड–बेलायत, क्रोएसिया–इटाली–स्लोभेनिया, इरान–युएई, बङ्गलादेश–भारत–म्यानमारबीचको सामुद्रिक सीमा विवाद केही त्यस्ता विवादहरू हुन् जसले अन्तर्राष्ट्रिय सम्बन्ध र सुरक्षालाई प्रभावित बनाउँदै आएको छ।
अर्को रोचक कुरा के हो भने आफूलाई रणनीतिक रुपमा लाभ हुने कुनै पनि विवाद (चाहे त्यो भूमिको होस् वा सामुद्रिक) मा संरा अमेरिका सधैं हामफालेर पुगेको हुन्छ। संरा सङ्घीय समुद्री कानुनसम्बन्धी अभिसन्धीको हस्ताक्षरकर्ता नभएर पनि संरा अमेरिकी विस्तारित सामुद्रिक किनारा(ईसीएस)ले राष्ट्र सङ्घीय अभिसन्धिको कार्यविधिको आधारमा सम्पूर्ण प्रशान्त महासागरलाई संरा अमेरिकी तालको जस्तो हेर्ने गर्दछ।
सन् २०१५को जुन १ मा द डिप्लोमेटले उद्धरण गरेको रुसका सहायक विदेशमन्त्री एनातोली एनटोनोभको भनाइअनुसार संरा अमेरिकी विश्वव्यापी प्रभुत्ववाद नै सम्पूर्ण विश्वको अस्थिरताको प्रमुख कारण हो। 'रङ्ग क्रान्ति' को महामारीले मध्यपूर्वलाई ध्वस्त बनाएको छ र धेरै देशहरूलाई आँधीबेहरीले सखाप बनाएको छ। यस्तै रोग विभिन्न युरोपेली देशहरूमा देखापरेका छन् र त्यस्ता घटनाहरू बाहिरबाट नै नियन्त्रित हुने गरेको छ।'
एसियाको सन्दर्भमा संरा अमेरिकाको अवधारणा चीनलाई एक्ल्याउनेमै केन्द्रित छ। २१ औं शताब्दीमा चीनलाई रणनीतिक रुपमा समस्याको जञ्जालमा फसाउन संरा अमेरिका क्षेत्रीय र विशेष क्षेत्रीय दोस्रो शक्ति विकास गर्न चाहन्छ। त्यस्ता दोस्रो शक्तिअन्तर्गत भारत, अस्ट्रेलिया र जापान पर्छन्। जापानबाट प्रकाशित हुने गरेको द डिप्लोमेटले सन् २०१५ मार्चमा निकालेको एक समाचारअनुुसार जापानमा प्रधानमन्त्री र भारतको प्रधानमन्त्री मोदीबीच आपसी सम्बन्धलाई बलियो बनाइरहेका छन्। सो अखबारअनुसार पछिल्लो समय चीनको सक्रिय विदेश नीतिका कारण जापान र भारतले बाह्य वातावरण अनिश्चित बन्दै गएको आभास गरेका छन्। सन् २०१४ मा भारतको आमन्त्रणमा जापानले विगतमा भारत र संरा अमेरिकाबीच हुँदै आएको मालाबार सैनिक अभ्यासमा सहभागिता जनाएको छ।
टाइम्स अफ इण्डिया (३१ मे २०१५)ले भियतनामसँग भारतले थप आर्थिक तथा रक्षा सम्बन्ध विस्तार खोजेकोमा चीनले असजिलो मानेको समाचार प्रकाशित गरेको थियो। चीनले भारतलाई बेइजिङको अनुमतिबिना दक्षिण चीन सागरमा तेल र ग्यासको लागि उत्खनन् गर्न नपाउने भनी चेतावनी दिएको थियो। इण्डिया टाइम्सको सो समाचारप्रति सामाजिक सञ्जालका प्रयोगकर्ताहरूले 'चीनलाई पाठ सिकाउन' सो क्षेत्रमा पाँच वटा अमेरिकी विमान उडाउन मिल्ने ठूलो जहाज राख्नुपर्ने केही टिप्पणी गरिएको थियो।
संरा अमेरिका र अस्ट्रेलियाबीच भएको शक्ति सम्झौता र सो क्षेत्रमा थप अमेरिकी सेना राख्ने सम्बन्धमा भएको सम्झौता एसिया–प्रशान्त क्षेत्रमा सुरक्षाको विषयमा गरिएको गलत वास्तु योजना हो। अस्ट्रेलिया वास्तवमा संरा अमेरिकाको सैनिक सहचरीमा रुपमा आफ्नो पहिचान बनाएको छ।
दक्षिण चीन सागरमा दोस्रो शक्तिको सामर्थ्य उनीहरूको कूटनीतिक, आर्थिक र सैनिक क्षमता र शक्तिका कारण सीमित हुने पक्का छ। भारतको विभाजित जनमत, सार्कसँगको कमजोर सम्बन्ध र चरम गरिबी, जापानको कमजोर बन्दै गएको जनसाङ्ख्यिक विकास र ओरालो लाग्दो अर्थतन्त्र र अस्ट्रेलियाको भौगोलिक दूरी र जनसाङ्ख्यिक चुनौतीबीच पनि उसले आफैलाई संरा अमेरिकी सहायकको रुपमा उभाएको हुनाले पनि दोस्रो शक्तिका सीमितता भएको प्रस्ट छ।
मलेसियासँग चीनको सम्बन्ध विस्तार र दक्षिण चीन सागरबाट ऊर्जा विकासको लागि साझा प्रयासको पहललाई राम्रो सङ्केतको रुपमा लिन सकिन्छ। यद्यपि चीनले सीएनएन र हलिउडको एक्लौटी नियन्त्रण भएका सञ्चारमाध्यमहरूमा रणनीतिक आर्थिक विकास देखाउने र प्रचार गर्ने संयन्त्रको विकास गर्न जरुरी छ।
पश्चिमा प्रभुत्ववादलाई नियन्त्रण गर्न रुस र चीनबीच बनेको रणनीतिक कार्यक्रम प्रशंसनीय छ। चीन र रुसबीच सन् २०१६ मा दक्षिण चीन सागरमा सुरक्षा अभ्यास गर्ने दुवै पक्षको निर्णयले संसारलाई अब हामी एकधु्रवीय विश्वबाट बहुधु्रवीय संसारमा जाँदैछौं भन्ने निष्कर्षमा पुग्न सक्छौं। त्यो बहुधु्रवीय विश्वले संसारमा शान्ति स्थापनाको लागि सकारात्मक योगदान गर्नेछ।
चीनले भारतलाई अब सोध्नुपर्छ–के तिमी गैरयुरेसियाली शक्तिको मौजा हुने वा पश्चिमा शक्तिको प्रभुत्वबाट संसारलाई मुक्त गर्न दक्षिण मोर्चाको सदस्य बन्ने?
भारतले त्यसको जवाफमा पोर्चुगेली भाषाको एउटा उखान जस्तै भन्न सक्छः सलगमको बारीमा पानी पर्दै गर्दा तिमी ओखलमा घाम लागेको हेर्न इच्छाउँदैनौ।
लाहौर(पाकिस्तान) का एक स्वतन्त्र पत्रकार उमार वाकरले पनि यो लेखको लागि सहयोग गरेका छन्।
चाइना डेली डट कम डट सीएन अगस्ट ७, २०१५
प्रस्तुतिः नीरज
|