स्वस्थ नागरिक तयार गर्न खेलकुद गतिविधिको निरन्तरता जरुरी
भक्तपुर, १ असार। भक्तपुर जिल्लाव्यापी अन्तर विद्यालयस्तरीय जिविस तथा कोका–कोला कप छनोट फूटबल प्रतियोगिताको फाइनल तथा पुरस्कार वितरण समारोह नगर खेलकुद समितिका संयोजक उकेश कवांको प्रमुख आतिथ्यमा सिद्धपोखरी खेल मैदानमा सम्पन्न भयो। बाल विकास इङ्गलिस स्कूल र सैनिक स्कूलबीच भएको फाइनल खेलमा सैनिक स्कूलले जित हासिल गर्यो।
अतिथि उकेश कवांले खेलाडीहरूको प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रतियोगिताले दिने बताउँदै स्वस्थ नागरिक तयार गर्न खेलकुद आवश्यक छ भन्नुभयो। उहाँले खेल विकास गर्न खेल मैदान आवश्यकता महसुस गरी सैनिक आवासीय महाविद्यालयले खेलाडीहरूलाई खेल मैदान उपलब्ध गराए अझ खेलाडीहरूको विकास हुने बताउनुभयो।
कार्यक्रम आयोजक समितिले भक्तपुर जिल्ला फूटबल सङ्घका अध्यक्ष गौतम सुजखुको सभापतित्वमा सम्पन्न भएको थियो भने उपाध्यक्ष रामकृष्ण प्रजापति र तीर्थ राजचलले पनि बोल्नुभएको थियो।
उक्त कार्यक्रममा अतिथि कवांले प्रथम सैनिक स्कूल, द्वितीय बाल विकास इङ्गलिस स्कूल, रेफ्रिहरूलाई ट्रफ्रि, मेडल, प्रमाणपत्र वितरण गर्नुभएको थियो भने सभापति गौतम सुजखुले सहभागीहरू र सहयोगीहरूलाई प्रशंसापत्र वितरण गर्नुभएको थियो।
बाल विकास इङ्गलिस स्कूलविरुद्ध सैनिक स्कूलबीच भएको खेलमा ०–७ ले सैनिक स्कूलले जित हासिल गरी प्रथम स्थान पक्का गरी कोका–कोला कपको लागि भक्तपुर जिल्लाबाट छनोट भएको छ। सैनिकको अरविन केसीले ११ मिनेटमा, हुर्केन्द्र रानाले १३ र १५ मिनेटमा, रायन भट्टराईले १७ मिनेटमा, प्रकाश गिरीले २५ मिनेट, सिद्धार्थ रानाले ३३ मिनेट र मध्यान्तरपछि विशाल आलेमगरले ४३ मिनेटमा १/१ गोल गरी ७ गोलको फरकमा फाइनल खेल जित हासिल गरे।
|