चितवनमा वन अतिक्रमण हटाइँदै
रत्ननगर (चितवन), १ असार। जिल्लामा वन क्षेत्रमा भएको अतिक्रमण हटाउन सुरु गरिएको छ।
जिल्ला वन कार्यालयले अतिक्रमण भएको क्षेत्र खाली गर्न अभियान थालेको मध्यमाञ्चल क्षेत्रीय वन निर्देशनालयका उपसचिव विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो। दाहखानीको गर्दासको १० हेक्टर क्षेत्रमा लगाइएको बाली नष्ट गरी अतिक्रमण हटाउन थालिएको हो। असारभरिमा रानीखोजाको १२, झरना सामुदायिक वनको १५ र लटौली वनको एक हेक्टर क्षेत्रमा गरिएको अतिक्रमण हटाएर वृक्षरोपण गर्ने योजना रहेको पौडेलको भनाइ छ।
जिल्लामा यस वर्ष वैज्ञानिक विधि (जीपीएस सिस्टम) बाट वन अतिक्रमणको तथ्याङ्क सङ्कलन गरिएको थियो। उक्त अध्ययनले दुईहजार ९०० हेक्टर वन अतित्र
्कमण भएको देखाएको छ। जिल्ला वनअन्तर्गत एक हजार ६८८ हेक्टर तथा चितवन निकुञ्जअन्तर्गतको एक हजार २०० हेक्टर वन क्षेत्र अतिक्रमणमा परेको पाइएको जिल्ला वन अधिकृत गणेश रायले बताउनुभयो।
चितवनमा वनको क्षेत्रफल एक लाख २८ हजार ५०० हेक्टर छ। जिल्ला वनअन्तर्गत ४४ हजार ९३६ हेक्टर र निकुञ्जतर्फ ८३ हजार ५६४ हेक्टर वन छ। जिल्ला वनअन्तर्गत आँपटारी इलाकासहित अमिलेपानी, गुञ्जानगर, हरिपुर, जुटपानी, कोराक, शक्तिखोर, सिद्धी, गडौली इलाका वन कार्यालयको क्षेत्रमा वन अतिक्रमण भएको पाइएको छ। जिल्लामा वन क्षेत्र विसं २०२४ देखि अतिक्रमण हुँदै आएको जिल्ला वन कार्यालयले जनाएको छ। |