नेपाल र चीनबीचको कोरला नाका खुल्यो
काठमाडौं, १ असार। नेपाल र चीनबीचको कोरला नाका खुलेको छ। व्यापार मेलाको अवसर पारेर २५ दिनको लागि नाका खोलिएको हो।
बुधबारदेखि २५ दिनको लागि नाका खुलेपछि स्थानीयहरू खुसी भएका छन् भने सामान किन्न सीमा क्षेत्रमा भीड लागेको छ।
नेपाल र चीनबीचको सबैभन्दा ठूलो नाका तातोपानी नाका नखुल्दा समस्या भइरहेको बेला केही समयको लागि भए पनि कोरला नाका खुलेपछि व्यापारीलाई राहत मिलेको छ। तिब्बती शरणार्थीहरूको समस्यालाई कारण देखाउदै भूकम्प गएपछि चीनले तातोपानी नाका बन्द गरेको छ।
नाका खुलेको थाहा पाएपछि पोखरा, बुटवललगायतका स्थानबाट व्यापारीहरू सामान खरिदको लागि उपल्लो मुस्ताङ पुगेको स्थानीयले बताएका छन्। नेपाली व्यापारीहरू सामान किन्नको लागि कोरला नाकादेखि करिब २ किलोमिटरभित्र चिनियाँ भूमिमा जानुपर्दछ।
नाकादेखि ३० किलोमिटर पर ढुवासेन भन्ने स्थानमा ठूलो चिनियाँ बजार रहेको र सो स्थानबाट चिनियाँ सामान सीमानामा ल्याइने गरिन्छ। नेपालबाट पनि पश्मिना, मैदा, चाउचाउ, जौ र उवाको पीठो, चामललगायतका सामग्री चीनतर्फ जाने लोमान्थाङ गाविसका सचिव ज्ञानेन्द्र बिष्टले जानकारी दिए।
|