आर्थिक प्रगति रोक्न चीनलाई युद्धमा फसाउने षड्यन्त्र हुँदै
भक्तपुर, १ असार। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भारत, जापान र आसियान देशहरूलाई हतियारको रुपमा प्रयोग गरेर संरा अमेरिकी र पश्चिमा साम्राज्यवादी देशहरूले चीनको आर्थिक प्रगतिलाई अवरुद्ध गर्न युद्धमा फसाउन खोजेका बताउनुभएको छ।
बुधबार नेमकिपा विदेश सम्बन्ध विभागको आयोजनामा भएको दक्षिण चीन सागर र त्यहाँका टापुहरूसम्बन्धी विवाद विषयक विचार गोष्ठीमा बोल्दै उहाँले पश्चिमा शक्तिले एसियाली देशहरूबीच भिडाएर संसारमा आफ्नो प्रभुत्व कायम राख्ने षड्यन्त्र गरिरहेकोबारे एसियाका जनता सचेत बन्नुपर्ने बताउनुभयो।
पश्चिमा देशहरू अरु देशहरूमाथि हमला गरी कब्जा गर्ने इतिहासबाट हुर्केको चर्चा गर्दै अध्यक्ष रोहितले भन्नुभयो,
साम्राज्यवादीहरू लुटाहाहरू हुन्, लुटपाट र मारकाट नै उनीहरूको चरित्र हो।'
मालाबार युद्धअभ्यास एक क्षेत्र एक बाटो तथा एक्काइसौं शताब्दीको सामुद्रिक रेशममार्गको चिनियाँ सपना बिथोल्ने उद्देश्यले भइरहेको अध्यक्ष बिजुक्छेंको भनाइ थियो।
भारतको हिन्दू अतिवादी सरकार संरा. अमेरिकी सरकारसँग नजिकिएर चीनलाई घेर्ने पश्चिमा देशहरूको योजनामाथि दिइरहेको भन्दै उहाँले भन्नुभयो, 'एसियाली जनतालाई भिडाएर संसारमा आफ्नो साम्राज्य बलियो राख्ने अमेरिकी सपना त्यत्ति सस्तो भने हुनेछैन।'
जर्मनी र फ्रान्सको इतिहासको प्रसङ्गबारे बोल्दै उहाँले कम्युनिष्ट र मजदुर आन्दोलन बढेको देशमा साम्राज्यवादी देशहरूले युद्ध थोपर्ने गरेको बताउनुभयो।
कुनै ठाउँको विषयमा विवाद भए त्यो स्थानको पुरानो नाम पनि सत्यमा पुग्ने आधार हुने भएकाले कुनै स्थानको नाम फेर्न नहुने अध्यक्ष बिजुक्छेंको भनाइ थियो।
'एसियाको मामिलामा संरा अमेरिका र पश्चिमा देशहरूले अनावश्यक चासो राख्नु गलत भएकाले एसियाली जनताले सबैतिर साम्राज्यवादी शक्तिहरूलाई चेतावनी दिन आवश्यक छ।' उहाँले भन्नुभयो।सन् १९७० को दशकमा 'ब्लिज' नामको अखबारमा भारतका सबै माथिल्ला कर्मचारीहरू सीआईएका एजेन्टहरू भएको खबर आएको प्रसङ्गबारे बोल्दै उहाँले भन्नुभयो,'नेता र माथिल्लो तहका कर्मचारीहरूलाई साम्राज्यवादीले किनिसकेको हुनाले जनताले मात्र साम्राज्यवादी हमलाबाट देशको रक्षा गर्न सक्तछन्।'
चीनले कहिल्यै कुनै पनि देशमा उपनिवेश लादेर दुःख दिने काम नगरेको चर्चा गर्दै अध्यक्ष रोहितले संरा अमेरिकामा हुने राष्ट्रपति निर्वाचनका कारण दक्षिण चीन सागरको विवादलाई उकास्ने काम गरिरहेको बताउनुभयो।
नेमकिपाका केन्द्रीय सदस्य एवं विदेश सम्बन्ध विभाग प्रमुख प्रेम सुवालले चिनियाँ क्रान्तिका उपलब्धिहरू ध्वस्त बनाउन साम्राज्यवादी शक्तिले चीनमाथि हमला गरिरहेको बताउनुभयो।
उहाँले संसारभरका सयौं देश र हजारौं राजनीतिक दलहरूसँग चीनको मैत्रीपूर्ण सम्बन्ध भएकाले कुनै देशमाथि हमला गर्ने चिनियाँ लक्ष्य कहिल्यै हुन नसक्ने बताउनुभयो।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले चीन संसारको सबभन्दा ठूलो अर्थतन्त्र र महाशक्ति बन्नु साम्राज्यवादी एवम् विस्तारवादीहरूको निम्ति ठूलो टाउको दुखाइको विषय बनेको परिप्रेक्ष्यमा चीनलाई युद्धमा फसाउने दुर्नियत साम्राज्यवादी शक्तिले राखेका बताउनुभयो। कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व, नेमकिपा विदेश सम्बन्ध विभागका सदस्य सुरेन्द्रराज गोसाई, नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजू, राजेन्द्र चवाललगायतका वक्ताहरूले
दक्षिण चीन सागर र टापुहरूको इतिहास तथा विश्वको वर्तमान राजनीतिक अवस्थाबारे बोल्नुभएको थियो।
गोष्ठीमा सहभागीहरूको तर्फबाट गएको जून १० बाट जापान, भारत र संरा अमेरिका सामेल भई चलिरहेको मालाबार युद्ध अभ्यासले एसिया–प्रशान्त क्षेत्रमा थप र अनावश्यक तनाव बढाउने भएकोले साम्राज्यवादी उक्साहटमा त्यस्ता युद्धक गतिविधि तत्काल बन्द गर्न र संसारका जनतालाई त्यस्ता गतिविधि रोक्न एकजुट हुन आह्वान गर्दै ऐक्यबद्धता सन्देश पारित गरेको छ। |