एसएलसीको नतिजा सार्वजनिक ४ लाख २५ हजार विद्यार्थीहरू कक्षा ११ पढ्न योग्य
काठमाडौं, २ असार। यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी) को परीक्षाफल प्रकाशित भएको छ। परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङअनुसार परीक्षाफल सार्वजनिक गरेको हो।
परीक्षामा नियमिततर्फ ४ लाख ३७ हजार ३२६ सहभागी भएका थिए। उनीहरूमध्ये ४ लाख २५ हजार ५८२ कक्षा ११ अध्ययन गर्न योग्य अर्थात् पास भएका छन्। यो भनेको १.६ वा सोभन्दा माथि ग्रेड प्वाइन्ट एभरेज
(जीपीए) ल्याएका विद्यार्थीहरूको सङ्ख्या हो।
१.८ देखि १.२ सम्म जीपीए ल्याएका ८ हजार र ०.८ जीपीए भएका ११ जनाले भने ११ पढ्न पाउने छैनन्। उनीहरूले टीएसएलसीमात्र पढ्न पाउनेछन्।
साथै उनीहरूले कम्तीमा दुई वटा विषयमा पुनःपरीक्षा दिएर आफ्नो जीपीएमा सुधार गर्न सक्नेछन्। पुनः परीक्षा साउन १४ देखि २१ गतेसम्म तोकिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
परीक्षामा १६ परीक्षार्थी कम उमेरका पाइएको छ, उनीहरूको परीक्षाफल रद्ध भएको छ। लिखित परीक्षामा सहभागी नभएका १ हजार ७३३, प्रयोगात्मक परीक्षामा सहभागी नभएका १ हजार ८००, कापी रद्ध भएका १८८ र परीक्षा रद्ध गरिएका एक जना फेल भएका छन्। यस्तै ६ हजार ८७८ ड्रप आउट परीक्षार्थी छन्। उनीहरू पनि फेल भएका छन्।
अङ्ग्रेजीमा साढे १२ हजारले ए प्लस ल्याउँदा नेपालीमा ६३ जनामात्र
वर्ष २०७२ सालको एसएलसी परीक्षाको नतिजाअनुसार अङ्ग्रेजी विषयमा १२ हजार ५ सय ५२ जनाले ए प्लस ल्याएका छन्। यस्तै नेपाली विषयमा ६३ जनाले मात्र ए प्लस ल्याएका छन्।
४१ हजार ८५ जनाले अङ्ग्रेजीमा ए ल्याउँदा ७५८३ जना विद्यार्थीले नेपालीमा ए ल्याएका छन्। यस्तै ७१ हजार १ सय २४ जनाले अङ्ग्रेजीमा ई ल्याउँदा २३ हजार ४५ जनाले नेपालीमा ई ल्याएका छन्।
परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीले प्राप्त गरेको यही प्रतिशतका आधारमा उसको ग्रेड प्वाइन्ट र त्यसकै आधारमा ग्रेड दिने गरेको छ।
त्यसो भए एसएलसीमा पहिलेजस्तो पास–फेल भन्ने नै नभएपछि के जसले पनि जेसुकै विषय पढ्न पाउने हो त? जतिसुकै ग्रेड ल्याए पनि रोजेको कलेजमा भर्ना हुन पाइने हो त?
उच्च माध्यमिक शिक्षा परिषद्ले कुन ग्रेड ल्याउने विद्यार्थीले के विषय पढ्न पाउने भनी तोकिदिएको छ। यसअनुसार परिषद्ले विभिन्न १२ विषयमा औसत ग्रेड प्वाइन्ट (जीपीए) तोक्दै कक्षा ११ मा भर्ना हुन कुन विषयका लागि कति ग्रेड र ग्रेड प्वाइन्ट चाहिन्छ भनी सार्वजनिक गरेको छ। विज्ञान विषय पढ्न कम्तीमा गणित र विज्ञानमा 'सी–प्लस', अङ्ग्रेजीमा 'सी' र सामाजिक शिक्षा तथा नेपालीमा 'डी–प्लस' आवश्यक पर्छ। विज्ञानको लागि चाहिने न्यूनतम ग्रेड प्वाइन्ट २ हो। यसमा भौतिक, रसायन, जीव, गणित, कम्प्युटर साइन्स पर्छन्।
विज्ञानबाहेक अरू जुनसुकै विषय पढ्न १.६ ग्रेड प्वाइन्ट भए पुग्छ। ग्रेड भने विषयअनुसार फरक छ। अर्थशास्त्र, बिजनेस म्याथ, भूगोल र मनोविज्ञान पढ्न गणितमा सी ग्रेडको साथै अङ्ग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी–प्लस ग्रेड ल्याउनुपर्छ।
अङ्ग्रेजी विषय पढ्न अङ्ग्रेजीमा सी ग्रेड तथा नेपाली र सामाजिकमा डी प्लस ल्याउनुुपर्छ। आमसञ्चार तथा पत्रकारिता, होटल म्यानेजमेन्ट र ट्राभल एण्ड टुरिज्म पढ्न अङ्ग्रेजीमा सी ग्रेड तथा नेपाली, गणित र सामाजिकमा डी–प्लस ल्याउनु पर्छ। नेपाली विषय पढ्न चाहनेले नेपालीमा सी ग्रेडका साथै अङ्ग्रेजी र सामाजिकमा डी प्लस ग्रेड हासिल गरेको हुनुपर्छ।
प्राविधिकतर्फको जीव विज्ञान, वनस्पति विज्ञान, इलेक्ट्रोनिक, सिभिल र कम्प्युटर इञ्जिनियरिङ पढ्न विज्ञान, गणित र अङ्ग्रेजीमा सी तथा सामाजिक र नेपालीमा डी–प्लस ल्याउनुपर्छ। शिक्षा परिचय, शिक्षणविधि, जनसङ्ख्या शिक्षा, वातावरण शिक्षा पढ्न जनसङ्ख्या तथा स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षामा 'सी तथा नेपाली, अङ्ग्रेजी र विज्ञानमा डी प्लस ग्रेड प्राप्त गर्नुपर्छ।
उच्च माध्यमिक विद्यालयको व्यावसायिक सङ्कायमा पढ्न चाहनेले विज्ञान, अङ्ग्रेजी र गणितमा सी अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरिएको छ। सीटीईभीटीले भने सी ग्रेडसम्म ल्याएका विद्यार्थीलाई भर्ना लिने निर्णय गरेको शिक्षासचिव विश्वप्रकाश पण्डितले बताएका छन्। सीटीईभीटीले अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सी ग्रेड ल्याउनुपर्ने निर्णय गरेको हो। यसका साथै उसले डी र ई ल्याउनेलाई तालिमको अवसर दिने जनाएको छ।
|