September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

सरकारले तीनवटै चुनाव गर्ने कार्ययोजना ल्यायो

काठमाडौं, २ असार। सरकारले २०७४ सालको मंसिरभित्र तीन वटै निर्वाचन (स्थानीय, प्रदेश, सङ्घीय संसद्) को चुनाव गर्ने कार्ययोजना तयार पारेको छ। 

सरकारले २०७४ सालको कार्तिक र मंसिर महिनामा राष्ट्रिय सभा र प्रतिनिधिसभाको निर्वाचन गरिसक्ने गरी संविधान कार्यान्वयनको कार्यतालिका बनाएको हो। 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्ययोजना पारित गरेको छ। सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिअनुसार नै कार्ययोजना बनाएको हो। 

प्रधानमन्त्री ओलीले मंसिर महिनामा स्थानीय तहको, आगामी वर्षको वैशाख–जेठ महिनामा प्रदेश तहको र आगामी वर्षकै कार्तिक–मंसिर महिनामा सङ्घीय संसद्को निर्वाचन गरिने बताएका थिए। सूचना तथा सञ्चारमन्त्री शेरधन राईले मन्त्रीपरिषद्ले पारित गरेको कार्ययोजना व्यवस्थापिका संसद्को आगामी बैठकमा पेश गरिने बताए। 

मन्त्रिपरिषद्ले पारित गरेको कार्ययोजना अनुसार आगामी मंसिर महिनासम्ममा स्थानीय तहको निर्वाचन, भाषा आयोग गठन तथा न्याय प्रशासनसम्बन्धी कानुनहरू निर्माण गरिने छन्। यस्तै, प्रदेशको सीमाङ्कन बारेमा सुझाव दिन साउन मसान्तसम्म आयोग गठन गर्ने र त्यो आयोगले काित्तक महिनाभित्र सरकारलाई सुझाव प्रतिवेदन पेश गर्ने कार्ययोजनामा उल्लेख छ। 

कार्ययोजनाअनुसार भाषा आयोग र उच्च अदालत भदौ मसान्तभित्र गठन गरिने छन्। सङ्घीय संसद् र प्रदेश सभाका सदस्यको निर्वाचन प्रयोजनको लागि निर्वाचन क्षेत्र निर्धारण गर्न कार्तिक मसान्तसम्म क्षेत्र निर्धारण आयोग गठन गरिसक्ने र उक्त आयोगले माघ मसान्तसम्म सरकारलाई  प्रतिवेदन बुझाउने कार्ययोजनामा उल्लेख छ। कार्ययोजना अनुसार संविधानमा व्यवस्था गरिएका संवैधानिक आयोगहरूको गठन र स्थानीय तहको निर्वाचन मंसिर महिनामा गरिने छ भने सङ्घ, प्रदेश र स्थानीय तहमा रहने कर्मचारीको समायोजन तथा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी कानुन पुस–मसान्तसम्म भित्र निर्माण गरिने छन्। सूचना तथा सञ्चारमन्त्री शेरधन राईका अनुसार प्रदेश प्रमुखहरूको नियुक्ति आगामी चैत महिनासम्म गरिसक्ने कार्ययोजनामा उल्लेख छ।