अति प्रभावित चौध जिल्लामा ८२ सामूहिक आवास निर्माण
काठमाडौं, ३ असार। भूकम्प अति प्रभावित १४ जिल्लाका पीडितलाई वर्षाअगावै छानामुनि ल्याउन ८२ सामूहिक आवास निर्माण सुरु भएको छ।
सहरी विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले ४६ र नेपाली सेनाले ३६ आवास निर्माण गरिरहेको प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भुसाले जानकारी दिनुभयो। थप चार सामूहिक आवास निर्माणका लागि बोलपत्र प्रक्रिया जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ।
ध्ाादिङमा मन्त्रालय र सेनाले पाँच पाँच नुवाकोटमा मन्त्रालयले तीन र सेनाले चार, रसुवामा मन्त्रालयले चार र सेनाले दुई, सिन्धुपाल्चोकमा मन्त्रालय र सेना दुवैले चार चार, काभ्रेपलाञ्चोकमा मन्त्रालयले ११ र सेनाले दुई, दोलखामा मन्त्रालयले चार र सेनाले एक, रामेछापमा मन्त्रालय र सेना दुवैले तीन तीन, सिन्धुलीमा मन्त्रालयले दुई र सेनाले तीन, मकवानपुरमा मन्त्रालय र सेना दुवैले पाँच पाँच, ओखलढुङ्गामा मन्त्रालयले पाँच र सेनाले दुई, गोरखामा सेनाले पाँच सामूहिक आवास निर्माण गर्ने कार्यक्रम सुरु भएको छ।
जिल्ला दैवीप्रकोप उद्धार समितिको निर्णय र मागअनुसार सामूहिक आवास निर्माण अघि बढेको हो। सामूहिक आवास भवनलाई पछि आवश्यकतानुसार सामुदायिक काममा पनि प्रयोग गरिने सहप्रवक्ता भुसालले जानकारी दिनुभयो।
|