संविधानपछि सूचना टाँस गरी बैठक स्थगित
काठमाडौं, १० असार। शुक्रबारको संसद बैठक सूचना टाँस गरी असार १२ गते आइतबार १ बजेसम्मको लागि स्थगित गरियो। संविधान जारीपछि सूचना टाँस गरी बैठक स्थगित गरिएको यो पहिलो हो। असार ९ गतेको बैठकमा नेकाले भूकम्प पीडितलाई रू. २ लाख अनुदान तत्काल दिनुपर्ने र ऋण पनि दिनुपर्ने माग राख्दै प्रम केपी ओलीको स्पष्ट जवाफ नआएसम्म संसद चल्न नदिने अडान राखेको थियो। तत्पश्चात सभामुख ओनसरी घर्तीले बैठक असार १० गते ११ बजेको लागि स्थगित गर्नुभएको थियो। असार १० गते प्रम ओलीले संसदमा जवाफ दिने तयारी थियो। तर प्रम ओली संसदमा ११ः३० बजेपछि मात्र पुग्नुभयो। प्रमुख प्रतिपक्षी नेकाले आफूले उठाएको विषयमा प्रम ओलीले कुनै चासो नदेखाएको र छलफलसमेत नगरेको गुनासो गर्यो। नेका सभापति शेरबहादुर देउवाले संसद भवनभित्रको प्रम ओलीको कक्षमा झण्डै डेढ घण्टा छलफल गरे। अन्ततः प्रम ओलीबाट संसदमा आइतबारमात्र जवाफ दिने सहमति गरियो र सूचना टाँस गरी बैठक स्थगित गरियो।
सभामुख घर्तीले आफ्नो कार्यकालमा समयमा बैठक सुरूवात गर्ने अभ्यास गर्दै आउनु भएको थियो तर पहिलोपटक यो अभ्यास तोडियो। आगामी दिनमा सभामुख घर्तीले समयमै बैठक सुरू गर्ने बताउनुभएको छ।
नेका, एमाले र एमाओवादी एक अर्कोप्रति सशङ्कित छन्। नेका नेतृत्वकै सरकारले भूकम्प पीडितलाई रू. २ लाख अनुदान दिने र नगरपालिका क्षेत्रमा रू. २५ लाख र गाविसमा रू. १५ लाखसम्म ऋण दिने पनि निर्णय गरेको थियो। तर नेका नेतृत्वको सरकारले आफ्नो निर्णय कार्यान्वयन गर्न सकेन र ओली नेतृत्वको सरकारलाई आफ्नो निर्णय कार्यान्वयन गराएर जस लिन खोज्दैछ। यही मौकामा सरकार परिवर्तनको समीकरणको खेल सुरू हुने त होइन? यो प्रश्न पनि उठिरहेको छ। |