विदेश जाने सन्तानब्बे प्रतिशत कामबारे अनभिज्ञ
काठमाडौं, १३ असार। वैदेशिक रोजगारीमा जाने ९७ प्रतिशत नागरिकलाई आफू के काम गर्नका लागि विदेश जाँदैछु भन्नेसमेत थाहा नहुने एक अध्ययनले बताएको छ।
महिला र कानुन मञ्चद्वारा सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा अधिवक्ता विमला खड्काले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमा वैदेशिक रोजगारीमा जाने तीन प्रतिशतलाई मात्र आफू जाने देश र गर्ने कामका बारेमा जानकारी हुने बताउनुभयो। अध्ययन अनुसार आठ प्रतिशतलाई आफूले पाउने तलबका बारेमा जानकारी हुन्छ भने बाँकी सो जानकारीबिना नै विदेश जाने गरेका छन्। झण्डै तीन महिना लगाएर गरिएको अध्ययनमा विदेश जाने ७१ प्रतिशत काठमाडौं उपत्यका बाहिरका तथा बाँकी उपत्यकाबाट जाने गरेको पाइएको छ।
त्यसैगरी पछिल्लो समय मानव बेचबिखन र मनोरञ्जनका लागि मात्र नभई नेपालीहरू शरीरका महत्त्वपूर्ण अङ्ग झिकाउन, बेचबिखन गर्न, घरेलु काम, धार्मिक वा सांस्कृतिक काममा लाग्न, माग्नसमेत प्रयोग हुने गरेको उल्लेख छ। सरकारी वकिल, प्रहरी र पीडित पक्षबीच समन्वयको अभाव हुँदा वैदेशिक रोजगारीको क्रममा हुने विभिन्न किसिमको समस्याका समाधान हुन नसकेको अधिवक्ता दिलीप कोइरालाले जानकारी गराउनुभयो।
|