सवारी साधनको कर वृद्धि
काठमाडौं, १३ असार। सरकारले साउन १ गतेदेखि वार्षिक सवारी कर वृद्धि गर्दैछ। आर्थिक विधेयक (बजेट) मार्फत घोषणा भएको कर वृद्धिको निर्णय साउनदेखि लागू हुनेछ।
सरकारले भन्सार विन्दुमा नै सडक दस्तुर कर बढाएर सवारी महँगो बनाउँदै छ भने सवारी करमा पनि भारी वृद्धि गर्दैछ। मोटरसाइकल र स्कुटरमा मात्रै एकैपटक ५ हजार रूपैयाँसम्म कर वृद्धि हुँदैछ।
यातायात व्यवस्था विभागले साउन १ गतेदेखि २५१ देखि ४०० सम्म सीसीका मोटरसाइकल धनीसँग वार्षिक ८ हजार रूपैयाँ कर लगाउनेछ। यसअघि ६ हजारमात्रै तिर्नुपर्थ्याे।
यस्तै ४ सय १ सीसीभन्दा माथिका सवारी धनीले यसअघि भन्दा ५ हजार रूपैयाँ बढी कर तिर्नुपर्नेछ। यसअघि १ हजार तिर्दै आएका ठूला क्षमताका बाइक चढ्नेले अब सरकारलाई १५ हजार रूपैयाँ तिर्नुपर्नेछ।
२५० सीसीसम्मका मोटरसाइकल चढ्नेहरूलाई भने राहत मिल्नेछ। यसपटक साना क्षमताका मोटरसाइकलमा कर बढाएको छैन।
यसैगरी निजी कार तथा जीप चढ्नेहरूले पनि पहिलेभन्दा बढी रकम करको लागि खर्च गर्नुपर्ने विभागअन्तर्गतको साना सवारी व्यवस्था कार्यालयका शाखा अधिकृत गणेशकुमार अर्यालले बताए।
उनका अनुसार १ हजार सीसीसम्मका कार तथा जीपले पहिले भन्दा एक हजार बढी कर तिर्नुपर्नेछ। यसअघि कर १८ हजार रहेकोमा अब १९ हजार रूपैयाँ बनाइएको छ।
यसैगरी १००१ देखि १५०० सीसीसम्मका कारधनीहरूले पनि एकहजार बढी कर चुक्ता गर्नुपर्नेछ। यसैगरी १५०० देखि २०० सीसीसम्मका काररजीपले यसअघि २२ हजार कर तिर्दै आएकोमा अब २३ हजार रूपैयाँ तिर्नेछन्।
२००० देखि २५ सयसम्मका कारका लागि यसअघि ३० हजार लिइन्थ्यो भने अब ३२ हजार रूपैयाँ लिइनेछ। २५ सयभन्दा माथि र २९ सय सीसीभन्दा मुनिका साना सवारीले ३७ हजार रूपैयाँ कर तिर्नेछन्। यसअघि यो ३५ हजार रूपैयाँ थियो।
२९००० सीसीभन्दा माथिका कारहरूलाई वाषिर्क ५३ हजार रूपैयाँ कर तिराइनेछ। यस्ता सवारीसँग ५० हजार रूपैयाँ कर लिइन्थ्यो।
यसैगरी सरकाले सार्वजनिक सवारीहरूको पनि करको दर बढाएको छ। विभिन्न पत्रकारका निजी सवारी साधन र निर्माण उपकरणले वाषिर्क रूपमा तिर्नुपर्ने करमा पनि वृद्धि भएको छ।
यसबीच सरकारले भन्सार पास भएका नयाँ सवारीसँग लिने सडक कर दस्तुरमा पनि वृद्धि गरेको छ। यसअघि १२५ सीसीसम्मका बाइक भित्र्याउँदा ७ हजार लाग्ने यो कर अहिले ११ हजार रूपैयाँ बनाइएको छ। यसैगरी १२६ देखि २५० सीसीसम्मका मोटरसाइकल भित्र्याउादा लिइने ८ हजार रूपैयाँलाई अब १२ हजार पुगेको छ।
यस्तै २५० देखि ४०० सीसीसम्मका मोटरसाइकलका लागि अब सडक दस्तुर १५ हजार लाग्नेछ। यसअघि १० हजार मात्रै थियो। ४०१ सीसी माथिका मोटरसाइकलका लागि पनि ५ हजार रूपैयाा दस्तुर बढाएर २० हजार बनाइएको छ।
यसैगरी सबै निजी प्रयोजनका सवारी भित्र्याउँदा यसअघि बीलबिजक र भन्सार रकमसहितको कुल लागतको ५ प्रतिशतले लिइँदै अएको सडक दस्तुर करलाई अब २ प्रतिशतले वृद्धि गरिएको छ। एकपटक मात्रै तिर्नुपर्ने यस्तो कर ७ प्रतिशत भएको छ।
यसैकारण निजी सवारीको मूल्यमा २ प्रतिशतले वृद्धि हुने पक्का छ। मोटरसाइकलमा पनि बढेको सडक बढेकै दस्तुर बराबर स्वतः मूल्य बढ्नेछ।
|