September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

कलङ्की–कोटेश्वर चक्रपथ विस्तारको समय डेढ वर्ष थप

काठमाडौं, १३ असार। कलङ्की–कोटेश्वर १० किमि चक्रपथ विस्तारको अवधि एक वर्ष छ महिना २५ दिन थप गरिएको छ। 

विसं २०७३ पुसमा सम्पन्न हुनुपर्ने भए पनि भूकम्प, भारतको अघोषित नाकाबन्दी, बिजुली, टेलिफोनका तार एवम् खानेपानीको पाइप र कलङ्कीमा काठमाडौं महानगरपालिकाले निर्माण गरेको आकासेपुलको संरचना हटाउन नसक्दा निर्माण समय थप गर्नुपरेको चक्रपथ सुधार आयोजनाले जनाएको छ। 

पहिलो चरणको काम सम्पन्न गर्ने अवधि २०७५ साउनसम्मलाई थप गरिएको आयोजना प्रमुख राजेश दासले जानकारी दिनुभयो। “प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा चिनियाँ पक्षले कलङ्कीकै विषय उठाएर दोस्रो चरणमा काम सुरु गर्ने १७ किमि खण्डको प्रस्तावका बारेमा छलफल गर्न नमानेपछि अवधि थप गर्नुपरेको हो”–उहाँले भन्नुभयो। 

चक्रपथ विस्तार हुने भन्ने थाहा हुँदाहुँदै पनि महानगरपालिकाको सार्वजनिक–निजी साझेदारीमा इनोभेटिभ कन्सेप्ट प्रालिले विसं २०७० मा कलङ्कीमा आकासेपुल निर्माण गरेपछि समस्या आएको आयोजनाले जनाएको छ। महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की चक्रपथ विस्तार हुने सूचना आउनुभन्दा अघि नै सार्वजनिक–निजी साझेदारीअन्तर्गत इनोभेटिभसँग सम्झौता भइसकेकोले रोक्न नसकिएको बताउनुहुन्छ। 

“आकासेपुल जेठ मसान्तसम्म भत्काउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको पत्र आएको छ, मन्त्रालय र इनोभेटिभ दुवैलाई राखेर छलफल गरी समस्या समाधानको पहल गरिरहेका छौं”–उहाँले भन्नुभयो। आकासेपुल भत्काएर कलङ्कीमै काम सुरु गरेपछि डेढ वर्ष समय लाग्ने भएकोले अवधि थप गर्नुपरेको प्रमुख दासले बताउनुभयो। कलङ्कीमा चार लेनको 'अण्डर पास' निर्माण गरिने भएकोले बढी समय लाग्छ। आयोजनाले नेपालमै पहिलोपटक अण्डर पास निर्माण गर्न लागेको हो। 

चीन सरकारको करिब रु. पाँच अर्ब (३१२ मिलियन युआन) अनुदान सहयोगमा २७ किमि चक्रपथमध्ये १० किमि खण्डलाई आठ लेन बनाउने काम भइरहेको छ। चक्रपथ विस्तारसँगै यस खण्डमा पर्ने चार स्थानका आठवटा पुललाई पनि आठ लेनको बनाइनेछ।