इन्धन आपूर्तिको विकल्प चाहियो
काठमाडौं, २१ असार। नेपाल मजदुर किसान पार्टीका सांसद डिल्लीप्रसाद काफ्लेले आपूर्ति मन्त्रालयले भारतसँग मात्रै इन्धन आपूर्ति गर्ने गरेको कारण भारतले गरेको नाकाबन्दीमा नेपाली जनताले दुःख पाएको र अहिले पनि सरकारले आपूर्तिको विकल्प नखोजेको हुँदा मन्त्री र कर्मचारी देशभक्त नभएको पुष्टि भएको विचार राख्नुभएको छ।
व्यवस्थापिका संसदको मङ्गलबारको बैठकमा विनियोजन विधेयक, २०७३ का विभिन्न शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै सांसद काफ्लेले उपर्युक्त धारणा राख्नुभएको हो। आपूर्ति मन्त्रालय, ऊर्जा, सहकारी तथा गरिबी निवारण, महिला बालबालिका तथा समाज कल्याण, रक्षा, परराष्ट्र सङ्घीय मामिला तथा स्थानीय विकास, भौतिक पूर्वाधार तथा यातयात, शहरी विकास मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयमाथि मङ्गलबार छलफल भएको हो
सांसद काफ्लेले ऊर्जा मन्त्रालयअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत् आयोजनालाई थप रकम उपलब्ध गराई यसै वर्ष निर्माण कार्य सम्पन्न गरी लोडसेडिङ्ग हटाउनुपर्ने भन्दै नेपाली जलविद्युत् आयोजना निर्माण गरी भारतबाट विद्युत् आयात रोक्नुपर्ने उल्लेख गर्नुभयो।
सांसद काफ्ले परराष्ट्र मन्त्रालयले राम्रोसँग काम गर्न नसक्नु आर्थिक कूटनीतिको नाममा युवाहरूलाई विदेश पठाउने काम भएको चर्चा गर्दै देशले दास व्यापार गर्न परराष्ट्रले युवाहरूलाई विदेश पठाउने काम बन्द गर्नुपर्छ भन्नुभयो।
|