नेपाल–भारत सन्धि सम्झौता पुनरावलोकन गर्न प्रबुद्ध समूह एकमत
काठमाडौं, २१ असार। नेपाल–भारतबीच गठित प्रबुद्ध समूहको पहिलो बैठक दुई देशकाबीच सन् १९५० मा भएको सन्धिदेखिका सन्धि सम्झौतालगायतका द्विपक्षीय विषय पुनरावलोकन गर्न एकमत भएको छ।
बैठकपछि नेपालको प्रबुद्ध समूहका संयोजक एवम् पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापाले भने, – विभिन्न समयमा नेपाल–भारतबीच उठेका सबै विषयले बैठकमा प्रवेश पाएको छ, कुनै पनि विषय छुटेको र छाडिएको छैन।” तर उनले दुई देशकाबीचमा कुन–कुन कुरा उठेको थियो खुलाउन चाहेनन्।
नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरावलोकन गरी सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको बैठक सोमबारदेखि यहाँ सुरु भइ मङ्गलबार सकिएको हो।
सुरुमै संयोजक डा. थापाले नेपाल–भारतबीचमा समूह अलगअलग होइन, समूहमा रहनुभएका सदस्यका समान हैसियत भएको स्पष्ट पारे। उनले नेपाल–भारतबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन बैठकमा दुवैतर्फबाट थप अध्ययन गरी अगामी बैठकमा प्रस्तुत गर्ने सहमति भएको जानकारी दिए। बैठकले समूहको अर्को बैठक तीन महिनापछि भारतको राजधानी नयाँ दिल्लीमा बस्ने निर्णयसमेत गरेको छ।
समूहलाई दिइएको कार्यादेशका बुँदामा बैठकमा प्रवेश गरी अगामी बैठकमा यसकाबारेमा दुवै देशले विस्तृत अध्ययन गरी प्रस्तुत हुने सहमतिसमेत भएको डा. थापाले जानकारी दिए। समूहलाई दिइएको कार्यादेशमा दुवै देशबीचमा भएका सन्धि सम्झौताको अध्ययन, व्यापार तथा पारवहन, सूचना प्रविधि, विकासलगायतका क्षेत्रको अध्ययन गरी सुझाव दिने रहेको बताइएको छ। सञ्चारकर्मीको एक जिज्ञासामा उनले भने, 'दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन हामी बीचमा सौहाद्रपूर्ण रुपमा छलफल भयो।' संयोजक डा. थापाले बैठकमा दुवै देशबीचको सम्बन्धलाई प्रगाढ बनाउन एकमतका साथ काम गरी सम्बन्धको नयाँ खोजी गर्न समूहमा छलफल भएको बताए।
|