ब्लेयरले माफी मागे, बुसमाथि युद्धअपराधको मुद्दा
काठमाडौं, २३ असार,। इराक युद्धबारे अध्ययन गर्न बनेको बेलायती चिलकोट जाँचबुझ आयोगले आफ्नो रिपोर्ट सार्वजनिक गरेको भोलिपल्ट बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले युद्धमा मारिएकाहरूका परिवारसँग माफी मागेका छन्। उता अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसमाथि भने युद्ध अपराधको मुद्दा चल्न सक्ने चर्चा सुरु भएको छ।
बेलायती प्रधानमन्त्री ब्लेयरले माफी मागेको सम्बन्धमा बिहीबार बीबीसीले लेखेको छ–'ब्रिटेनका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले २००३ को इराक युद्धमा मारिएका मानिसका परिवारजनसँग माफी मागेका छन्। तथापि उनले यो पनि स्वीकार गरेका छन् कि ती परिवारजनले तिनलाई न कहिल्यै बिर्सनेछन् र न माफ गर्नेछन्।'
पूर्वप्रधानमन्त्री ब्लेयरले इराकमाथिको आक्रमण गल्ती भएको घुमाउरो किसिमले स्वीकारोक्तिसमेत प्रकट गरेका छन्। बीबीसी रिपोर्टका अनुसार उनले यो स्वीकार गरेका छन् कि त्यसबेला खुफिया सूचना गलत थियो र युद्धपछिको योजना खराब थियो। तत्कालीन सद्दाम हुसेनको सत्ताविरुद्ध सन् २००३ मा अमेरिकाको नेतृत्वमा इराकमाथि नेटो गठबन्धबाट सैन्य आक्रमण भएको थियो। अमेरिकी आक्रमणलाई बेलायतले सवि्र्कयतापूर्वक सघाएको थियो।
इराक आक्रमणमा दौरान २००३ देखि २००९ सम्म बेलायती सैनिकहरू १७९ जना मारिएका थिए। इराक युद्धमा ३ हजार ८ सय ७६ जना मारिएका थिए भने ५७ हजार ३ सय ५५ जना घाइते भएका थिए। विस्थापितहरूको संख्या लाखौंमा रहेको छ। त्यस्तै धनजनको क्षति एवं घरबारविहीन हुनेहरूको यकिन विवरण नै छैन।
इराकले रासायनिक एवं जैविक हतियार राखेको आरोपमा अमेरिका र बेलायतले त्यहाँको सार्वभौमितामाथि आक्रमण गरेको थियो। तर, अमेरिका र बेलायतले दाबी गरेजस्तो इराकमा जैविक हतियार फेला परेन।
अर्कोतर्फ सद्दामको शासन ढलेपछि इराकमा अहिलेसम्म त्यहाँ शान्ति कायम हुन सकेको छैन। इराक युद्धको प्रतिफलस्वरुप इस्लामिक विद्रोहीहरूको जन्म भएको छ र यसैका कारण युरोप र संसारका विभिन्न भागमा हिंसात्मक घटनाहरू बढेका छन्। संयुक्त राष्ट्र सङ्घको पछिल्लो रिपोर्ट अनुसार सिरियाका चारवटा शहरमा मात्रै अहिले ६२ हजार नागरिक भोकमरीको शिकार बनेका छन्। सिरियालगायतका देशबाट लाखौंको सङ्ख्यामा शरणार्थीहरू युरोपको विभिन्न भागमा छरिएका छन्। बलात्कार, मानव बेचबिखन, भोकमरीलगायतका समस्याले सिंगै विश्व यतिबेला आक्रान्त बनेको छ। र, यी सबै परिघटनाको कारक इराकमाथि थोपरिएको अनावश्यक युद्ध नै हो भन्ने निश्कर्ष अमेरिका र बेलायत दुबै देशमा निकाल्न थालिएको छ।
यसैबीच इराकमाथि गरिएको आक्रमणको औचित्यबारे अन्वेषण गर्न गठित आयोगले बुधबार आफ्नो रिपोर्ट सार्वजनिक गरेको छ। सात वर्ष लगाएर गरिएको जाँचबुझपछि तयार पारिएको रिपोर्टमा इराकमाथिको आक्रमण अन्तिम विकल्प थिएन भन्दै इराक आक्रमणलाई नाजायज ठहर गरेको छ। जोन चिलकोटको संयोजकत्वमा तयार पारिएको यो जाँच रिपोर्ट विभिन्न १२ खण्डमा प्रकाशित गरिएको छ। बेलायतले शान्ति र निशस्त्रीकरणको पर्याप्त उपाय अवलम्बन नगरी सैन्य आक्रमणको आखिरी उपाय अपनाएको रिपोर्टमा निष्कर्ष निकालिएको छ।
त्यसैगरी इराकमाथि तबाही मच्चाउनेवाला हतियार लिएर गरिएको आक्रमण न्यायोचित नभएको चिलकोट रिपोर्टको निश्कर्ष छ। गुप्तचरहरूको अपुष्ट रिपोर्टका आधारमा त्यसको जाँच नगरिकन आक्रमण गरिएको ठहर जाँचबुझ आायोगको रिपोर्टमा स्पष्ट पारिएको छ। साथै आक्रमणपछि उत्पन्न हुने जोखिमको पनि आँकलन नगरी इराकमाथि आक्रमण गरिएको रिपोर्टमा उल्लेख छ। सद्दाम हुसेनलाई परास्त गरेपछि के गर्ने भन्ने पनि आँकलन नगरी आक्रमण गरिएको निश्कर्ष चिलकोट जाँचबुझ आयोगले निकालेको छ। 'जुन परिस्थितिमा इराकमाथि हमलाको कानून आधार दिइइएको थियो, त्यसलाई पनि सही ठहर्याउन सकिंदैन,' रिपोर्टमा भनिएको छ। यसैबीच इराक हमलाका नेतृत्वकर्ता अमेरिकी पूर्वराष्ट्रपति जर्ज डब्ल्यु बुसमाथि युद्ध अपराधको अभियोगमा अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्न सक्ने एक अमेरिकी विश्लेषकले बताएका छन्।
अमेरिकारको डेलावेयर युनिभर्सिटीका प्रोफेसर मुक्तदर खानको भनाइ उद्धृत गर्दै बीबीसीले चिलकोट रिपोर्टलाई आधिकारिक बताउँदै बुसमाथि मुद्दा चल्न सक्ने बताएका हुन्। कुनै व्यक्ति वा संस्थाले उजुरी गरेमा अन्तर्राष्ट्रिय अदालतमा सुनुवाइ हुन सक्ने खानको विश्लेषण छ।
त्यसैगरी अब टोनी ब्लेयर पनि कानुनी कारबाहीबाट बच्न नसक्ने खानको टिप्पणी छ। इराक घटनामा मारिएका व्यक्तिका परिवारजनसँग माफी माग्ने क्रममा बेलायती पूर्वप्रधानमन्त्री ब्लेयरले इराक युद्धको आफूले जिम्मेवारी लिन बताउँदै अगाडि भनेका छन्–'भावी नेताहरूले यो गल्तीबाट पाठ सिकुन्।'
|