स्थानीय निकायको निर्वाचन सार्दा जनतालाई समस्या हुने
पोखरा, २४ असार। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले स्थानीय निकायको निर्वाचन विद्यमान संरचनाअन्तर्गत नै गर्नु बुद्धिमत्तापूर्ण हुने तर नयाँ संरचना बनाउने नाममा निर्वाचन पछि सार्दा जनतालाई थप समस्या हुने बताउनुभएको छ।
शुक्रबार पोखरामा भएको सञ्चारकर्मीसँगको भेटघाटमा अध्यक्ष रोहितले प्रदेशको सीमाङ्कनअघि नै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने विचार व्यक्त गर्नुभएको हो।
सरकारमा मन्त्री भएर सरकारकै आलोचना गर्ने प्रवृत्ति राजनैतिक नैतिकताविपरीत भएको भन्दै अध्यक्ष रोहितले नेपाल मजदुर किसान पार्टीले जनताको जनादेशअनुरूप संसदमा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको स्पष्ट पार्नुभयो।
भारतमा प्रगतिशील सरकार आएमात्र नेपाल–भारत सम्बन्धमा सुधार हुने बताउँदै उहाँले नेपाल मजदुर किसान पार्टीले भारतको एकाधिकार पूँजी र उसको हस्तक्षेपकारी नीतिको विरोध गरिरहने धारणा राख्नुभयो। उहाँले नेपालको छिमेकी देशसँगको सम्बन्ध ऐतिहासिक भएको हुँदा दुई देशबीच पारस्परिक सम्बन्ध स्थापना गर्नु आवश्यक भएको बताउनुभयो।
संविधान कार्यान्वयन कुनै पनि देशमा पूर्ण रूपले नहुने बताउँदै उहाँले यसको कार्यान्वयनको लागि नयाँ संविधानका आधारभूत पक्ष, स्थानीय निकाय र प्रदेशको सीमाङ्कन विषयमा गहन छलफलको आवश्यकता भएको बताउनुभयो।
अध्यक्ष रोहितले शिक्षा, रोजगारी, स्वास्थ्य, भूमिमाथिको स्वामित्व आदि विषयका समस्या समाधान गरेमात्र तराईका व्यापक जनताको हित हुने विचार व्यक्त गर्नुभयो।
दलहरूबीच मिलेर चलाउने सरकार सहमतीय सरकार हुने, राष्ट्रिय सरकार नहुने भन्दै उहाँले कुनै पनि सरकारले लिने मुद्दाको आधारमा नेमकिपाको समर्थन र विरोध हुने र नेमकिपा सरकारमा सामेल नहुने बताउनुभयो।
तराईमा भएका उपद्रव भारतको सहयोगको आधारमा भएको उल्लेख गर्दै भाजपा नेता कोसियारीले नेपाल र भारतबीचको जङ्गेपिलर हटाउने अभिव्यक्ति नेपालको सार्वभौमिकताविपरीत भएको बताउनुभयो।
उहाँले भन्नुभयो, 'कोसियारीको अभिव्यक्ति नेपाली जनताको भावनाविपरीत हो।'
भारतबाट आएका मानिसहरूलाई नेपालको नागरिकता दिने र तिनीहरूले राज्यका उच्च पदहरूमा पुग्न पाउने अधिकारको लागि तराईमा उपद्रवका कामहरू भएकाले तराईको समस्या तत्काल अन्त्य नहुने उहाँको भनाइ थियो।
नेपाल–चीन मैत्री सङ्घको आयोजनामा शनिबार पोखरामा हुने 'चिनियाँ सपना' नामको पुस्तक सार्वजनिकीकरण कार्यक्रमको लागि आउनुभएका अध्यक्ष रोहितले चिनियाँले अघि सारेको कार्यक्रम विश्वकै सपना हुनसक्छ वा सक्दैन भन्ने विषयमा नेपालमा पनि छलफल हुनुपर्ने विचार व्यक्त गर्नुभयो।
चीनले नेपालको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगरेको तर भारतले भने नेपालको आन्तरिक मामिलालाई निर्देशित गरेकोले भारतीय प्रगतिशील जनताको समर्थनका साथ नेपाली जनता भारतीय विस्तारवादको विरोधमा रहेको बताउनुभयो।
सञ्चारकर्मी भेटघाटमा नेमकिपाका केन्द्रीय कोषाध्यक्ष चैत्यराज शाक्य, नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्रराज गोसाई, नेपाल पत्रकार महासङ्घ कास्कीका सभापति रामकृष्ण ज्ञवाली, नेमकिपाका कृष्णबहादुर घजूको उपस्थिति थियो। कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले पनि बोल्नुभएको थियो।
यसैबीच आज बिहान अध्यक्ष रोहितले पोखरास्थित गोल्डन आई टीभीका प्रस्तोता गोविन्द सुवेदीसँग समसामयिक विषयमा अन्तर्वार्ता दिनुभयो।
|