September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

लेखकहरूलाई फासीवादविरुद्ध कलम चलाउन सुझाव

बनेपा (काभ्रे), ८ साउन। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले एसियामा पश्चिमा शक्ति देशहरूले थोपर्न खोजिरहेको तेस्रो विश्व युद्धमा भारतीय दक्षिणपन्थीहरू नयाँ फासीवादीको रूपमा प्रयोग हुने सम्भावनाबारे प्रगतिशील लेखकहरूलाई कलम चलाउन आग्रह गर्नुभएको छ।  

शनिबार प्रगतिशील लेखक सङ्घ केन्द्रीय समिति र काभ्रे जिल्ला समितिको संयुक्त आयोजनामा बनेपामा आयोजित 'साहित्य र राजनीतिको अन्तरसम्बन्ध' विषयक विचार गोष्ठी तथा कविता वाचन कार्यक्रममा बोल्दै उहाँले भारतीय दक्षिणपन्थीहरूलाई नयाँ फासीवादीको रूप धारण गर्नसक्नेबारे नेपाली जनतालाई सजग बनाउन साहित्यकारहरूले आफ्नो भूमिका निभाउनुपर्ने बताउनुभयो।  

उहाँले भन्नुभयो, 'नेपाली युवाहरूलाई अरू देशका साम्राज्यवादविरोधी सङ्घर्षलाई दबाउन प्रयोग गर्ने काम रोक्नुपर्छ, प्रगतिशील लेखकहरूले यसबारे कलम चलाउन जरूरी छ।' 

अध्यक्ष बिजुक्छेंले प्रगतिशील साहित्यबारे चर्चा गर्दै प्रगतिशील बन्न मार्क्सवादी नै बन्नुपर्ने विचार आफैलाई साँगुरो घेरामा पार्ने विचार भएको प्रस्ट पार्नुभयो।  

कुनै पार्टीको सदस्य भएरमात्र कोही साहित्यकार प्रगतिशील वा अप्रगतिशील नहुने भन्दै उहाँले भन्नुभयो, 'भारतका प्रेमचन्द र चीनका लुशुन कुनै पार्टीको सदस्य हुनुहुन्नथ्यो। तर उहाँहरू साम्राज्यवादविरोधी जनताका राम्रा साहित्यकारहरू हुुनुहुन्थ्यो।' 

समालोचना साहित्यको कमी भएकोमा चिन्ता व्यक्त गर्दै उहाँले कुनै दुतावास वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले बिनास्वार्थ नेपाली साहित्यकारहरूको किताब प्रकाशन नगर्ने विचार व्यक्त गर्नुभयो।  

उत्पादनको साधनले नै साहित्य र संस्कृतिको स्तर निर्धारण गर्ने उहाँको भनाइ थियो।  

कार्यक्रममा समालोचक पुरूषोत्तम सुवेदीले साहित्य र राजनीतिको अन्तरसम्बन्धबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। सुवेदीको कार्यपत्रमाथि साहित्यकार आहुतिले टिप्पणी गर्नुभएको थियो।  

प्रलेसका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा साहित्यकार मोहन दुवाल, खेम थपलिया, लक्ष्मण सापकोटा र लोक लामाले बोल्नुभएको थियो।  

कार्यक्रममा विमल निभा, निभा शाह, नीरज लवजू, प्रबोध सिन्धुलीय, राजु स्यानताङ, मोदनाथ मरहठ्ठालगायत दुई दर्जन कविहरूले कविता वाचन गर्नुभएको थियो।