नेमकिपाले अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने
काठमाडौं, ८ साउन। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले प्रधानमन्त्री केपी ओली सरकारको विपक्षमा संसदमा प्रस्तुत अविश्वासको प्रस्तावको विपक्षमा मतदान गर्ने बताउनुभएको छ।
शनिबार राजधानीमा नेमकिपा काठमाडौं जिल्ला समितिले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष रोहितले सरकारमा बस्ने पार्टीहरूले नै षड्यन्त्रमूलक ढङ्गले अविश्वासको प्रस्ताव ल्याउनु विश्वासघात भएको धारणा राख्नुभयो। उहाँले विदेशीकै निर्देशनमा नेपाली कांग्रेस र माओवादी केन्द्रको सत्ता गठबन्धन बनेको बताउनुभयो।
युरोपले दुइटा विश्वयुद्ध लडेको तर अब तेस्रो विश्वयुद्ध एसियामा भड्काउन साम्राज्यवादीहरू लागिरहेको तर्क गर्दै दक्षिण एसिया र चीनको दक्षिणसागरमा सैनिक गतिविधि बढाउँदै गएको जगजाहेर छ–उहाँले बताउनुभयो।
सहभागीको प्रश्नको जवाफ दिंदै नेमकिपाका अध्यक्ष रोहितले नेमकिपाले देशको सार्वभौमिकता र स्वतन्त्रताको रक्षाको निम्ति ओली सरकारको समर्थन गरेको बताउनुभयो।
नेमकिपा काठमाडौंका अध्यक्ष नारायण महर्जनको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्य सनकमान महर्जन, सरोजराज गोसाई र राजवीर डंगोलले मन्तव्य राख्नुभएको थियो।
|