माओवादीले अनैतिकता प्रदर्शन गर्यो
भक्तपुर, ८ साउन। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रेम सुवालले आफ्नै सहभागितामा बनेको बजेटका आश्रित आर्थिक विधेयकहरू असफल गराएर माओवादी केन्द्रले अनैतिकता प्रदर्शन गरेको बताउनुभयो।
नेपाल कर्मचारी समाज इञ्जिनियरिङ कलेज एकाइ समितिद्वारा 'चीनबारे हाम्रो विचार' पुस्तकबारे शनिबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद सुवालले आर्थिक विधेयकहरू पारित हुननसक्दा राज्यले आयकर, अन्त शुल्क, मूल्यअभिवृद्धि कर, सवारी कर आदि राजश्व उठाउन अप्ठ्यारो अवस्था आएको उहाँले बताउनुभयो।
देशमा उठ्ने राजश्व कर्मचारीलाई तलब खुवाउन पनि नपुग्ने तथ्य औंल्याउँदै सांसद सुवालले नेमकिपा प्रगतिशील कर प्रणाली लागू गर्नुपर्नेमा जोड दिन्छ भन्नुभयो।
चीनमा चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ विशेषताको समाजवाद अघि बढिरहेको बताउँदै उहाँले आर्थिक विकास भएपछि नै समाजवादी देश पूँजीवादमा जाने कुरा तथ्यसङ्गत छैन भन्नुभयो।
कार्यक्रममा नेमकिपा भक्तपुर नगर समितिका अध्यक्ष रवीन्द्र खर्बुजाले आवश्यक पूर्वाधार तयार भइसक्दा पनि ख्वप विश्वविद्यालयसम्बन्धी विधेयक पारित नहुनु दुःखद भएको बताउँदै ख्वप सर्कलका कलेजहरूले झैं ख्वप विश्वविद्यालयले पनि देशभरका विद्यार्थीहरूलाई उच्च शिक्षाको मौका दिने प्रस्ट्याउनुभयो।
शिक्षा मन्त्रालयलगातका उच्च कर्मचारीहरूको असहयोग र बेइमानीका कारण विश्वविद्यालय स्वीकृतिको प्रक्रिया अड्किएको बताउनुभयो।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश थुसाले जनवादी गणतन्त्र चीन र समाजवादबारे साम्राज्यवादीहरू र उग्रवामपन्थीहरूले नकारात्मक र गलत प्रचार गरिरहेका बेला 'चीनबारे हाम्रो विचार' पुस्तक तथ्यसहित प्रकाशन र पुनःप्रकाशन भएको बताउनुभयो।
चीनको आर्थिक एवं सामरिक शक्तिको विकासले छिमेकी देशलगायत विश्वलाई नै सुरक्षाको प्रत्याभूति सिर्जना गरेको बताउँदै चिनियाँ समाजवादबारे गहन अध्ययनको खाँचो रहेको उहाँले औंल्याउनुभयो।
ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माकले चीनले देश विकासका लागि आफ्नै देशमा दक्ष जनशक्ति उत्पादन गरी उपयोग गर्नुपर्छ भन्नेमा उदाहरण प्रस्तुत गरेको बताउनुभयो।
आयोजक समितिका अध्यक्ष सिद्धिराम सुवालको सभापतित्वमा भएको कार्यक्रममा समितिका काजीबहादुर पञ्च, राजन जति, जसतारा कोजू, सञ्जय मानन्धर, सरस्वती सिंख्वाल, पुण्यराम स्वंगमिखालगायतले अन्तरक्रियामा भाग लिनुभएको थियो।
|