नयाँ पुस्ता देशभक्त हुनुपर्ने
भक्तपुर, ८ साउन। ब्राइट स्टार इङ्गलिस स्कूलले एसएलसी –०७२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न गर्यो
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अतिथि प्रजापतिले नेपाली विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्षम रहेको कैयौं उदाहरण भएको बताउँदै विद्यार्थीहरूले मेहनतपूर्वक उच्च शिक्षा पूरा गर्नुपर्ने बताउनुभयो।
विद्यार्थीहरूले आफ्नो रोजाइको विषयमा विशेषज्ञता हासिल गर्नुका साथै देश र जनतासित सम्बन्धित विविध विषय र क्षेत्रको जानकारी राख्नुपर्ने उहाँले बताउनुभयो।
नयाँ पुस्ता देशभक्त हुनुपर्ने र साम्राज्यवादी र विस्तारवादी चलखेलविरूद्ध लड्नुपर्ने बताउँदै उहाँले नभए देशको सिक्किमीकरण हुनसक्नेतर्फ सचेत पार्नुभयो।
संस्थागत विद्यालय सङ्घ नेपाल – इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापा, ख्वप इञ्जिनियरिङ कलेजका प्राचार्य सुजन माक र आयोजक विद्यालयका संस्थापक पुष्पलाल सुजखूले उच्च शिक्षा सम्बन्धमा सुझावरहित मन्तव्य राख्नुभएको थियो।
विद्यालय समितिका अध्यक्ष गौतम सुजखूको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रिन्सिपल राजेन्द्र सुजखूले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभयो।
कार्यक्रममा अभिभावकहरू तुल्सीराम घेमोसू र दयालक्ष्मी शिल्पकार र विद्यार्थी प्रतिनिधिहरू अनिल लालुवा र आशिका घेमोसूले पनि बोल्नुभएको थियो।
सो विद्यालयबाट एसएलसी दिएका विद्यार्थीमध्ये ५ जना ए प्लस, १४ जना ए, ९ जना बी प्लस र ५ जना बी ग्रेडमा उत्तीर्ण भएका छन्।
|