नेमकिपा कामदार वर्गको पार्टी
भक्तपुर, ८ साउन। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चाँगुनारायण नगरपालिकाको शिव मन्दिर न्यौपाने कृषक गाउँ समूहको प्रथम साधारणसभाको उद्घाटन गर्दै नेमकिपा मजदुर, किसान र कामदार वर्गको पार्टी भएको विचार राख्नुभयो।
उहाँले संसदमा कृषिमा प्राथमिकता दिन जोड दिंदै आएको उल्लेख गर्दै दैनिक रू. ३ करोडको तरकारी र वार्षिक रू. २ खर्बको खाद्यान्न भारतबाट आयात भइरहेको तस्वीरले नेपालमा कृषि उत्पादन निकै घटेको पुष्टि गर्ने बताउनुभयो।
विदेशबाट आयात हुने कृषि सामग्रीमा भन्सार शुल्क लगाएपछि कृषि सेवा शुल्क नलाग्ने राजश्व व्यवस्थाले नेपाल विदेशीको कृषि बजार पनि हुने उल्लेख गर्दै सरकारमा गएका दलहरूले हरियो वन तस्करको धन बनाएको चर्चा गर्नुभयो।
समूहकी अध्यक्ष प्रमिला न्यौपानेको अध्यक्षतामा भएको बैठकमा एनबी फोजू, मिनबहादुर बाटा, गणेशराम सुवाल, रामप्रसाद न्यौपाने, भरतप्रसाद न्यौपाने, पृथ्वीकुमार प्रजापति, शिव मन्दिर न्यौपाने, रमेश सापकोटा र गणेश धिताललगायतले बोल्नुभएको थियो।
|