September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

नयाँ पुस्तालाई विदेशमा सिकेर देशको सेवा गर्न उत्साहित गर्नुपर्ने

भक्तपुर, ६ भदौ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले ज्येष्ठ नागरिकहरूको लागि आदर निकेतनको व्यवस्था गर्नेतर्फ भक्तपुर विकास सहयोग सङ्घको ध्यान जानुपर्ने उल्लेख गर्नुभयो।  

आइतबार सङ्घको पच्चीसौं स्थापना दिवस तथा रजत महोत्सव समारोहको उद्घाटन गर्दै अध्यक्ष बिजुक्छेंले नयाँ पुस्तालाई विदेशमा सिकेर देशको सेवामा फर्कन उत्साहित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।  

उहाँले देश र समाजको गतिविधिमा महिला सहभागिता बढ्दै गएको उल्लेख गर्दै कार्यक्रमहरूमा पुरस्कार लिने नयाँ पुस्ताका केटीहरू बढेको र अबको दश–पन्ध्र वर्षमा मुख्य मुख्य जिम्मेवारीमा महिलाहरू पुग्ने बताउनुभयो। 

सङ्घले कमिकमजोरीलाई केलाएर देश र समाजको हितमा गतिविधि चालू राख्ने अपेक्षा राख्दै अध्यक्ष बिजुक्छेंले सहभागी हुने अवसरको निम्ति सङ्घका सदस्य र पदाधिकारीहरूलाई धन्यवाद दिनुभयो।  

प्रमुख अतिथि बिजुक्छेंले सङ्घमा बसेर पच्चीस वर्ष निरन्तर सेवा गर्नुभएका रत्नसुन्दर सैजू, कृष्णलाल प्रधान, राजाराम जोशी, हरिश्रेणीलाल श्रेष्ठ, मोहनप्रसाद श्रेष्ठ, गणेशभक्त साख, रामदास हाडा र सर्वज्ञभक्त मल्ललाई सङ्घको तर्फबाट दोसल्ला ओढाई बधाई दिनुभयो।  

अध्यक्ष बिजुक्छेंले शिक्षा क्षेत्रमा आजीवन सेवा गरेका नृपतिलाल प्रधानाङ्ग, साहित्य र सामाजिक क्षेत्रमा योगदान गरेका तेजेश्वरबाबु ग्वङ्ग, आलुलाई उन्नत ढङ्गले उत्पादन गर्ने विशेषज्ञ बाबुकाजी भोमी, खेलकुद क्षेत्रमा योगदान गरेका विनोदचरण राय र कान्छीमैयाँ कोजूलाई पनि दोसल्ला ओढाई बधाई दिनुभयो। 

सङ्घका अध्यक्ष राजाराम जोशीले वागीश्वरी उच्च मावि, मेघा माध्यमिक विद्यालय र वासु उच्च माविलाई प्रवेशिका परीक्षामा राम्रो नतिजासहित पठनपाठन गराउँदै आएकोमा बधाईपत्र प्रदान गर्नुभयो।  

अध्यक्ष जोशीले प्रवेशिका परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने नौ जना विद्यार्थीलाई बधाईसहित पदक र प्रमाणपत्र वितरण गर्नुभयो।  

कार्यक्रमको सभापति अध्यक्ष जोशीले गर्नुभयो भने निवर्तमान अध्यक्ष कृष्णलाल प्रधानले सङ्घको गतिविधिबारे प्रकाश पार्नुभयो।  

सङ्घका कोषाध्यक्ष राजुमृगेन्द्र जोशीले आर्थिक प्रतिवेदन पेश गर्नुभयो भने सङ्घका प्रथम उपाध्यक्ष दिनेश श्रेष्ठले धन्यवाद दिनुभयो।