September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

कञ्चनपुरको एक हत्याकाण्डबारे संसदीय समितिमा पुनः छलफल

काठमाडौं, ६ भदौ। कञ्चनपुरमा गत जेठमा विभत्स तरिकाले हत्या गरिएकी रामदुलारी राना घटना (सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दासमेत) विषयमा संसदको महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिमा पुनः छलफल भएको छ। गत असार २८ गते नै पीडित पक्ष, सुरक्षा निकाय, महिला बालबालिका समाज कल्याणमन्त्री र गृहमन्त्रीसमेतलाई आमन्त्रण गरी छलफलपश्चात् समितिले घट्नाका दोषीहरूलाई तुरून्त कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो। उक्त निर्देशनको पालना नहुनुका साथै पीडक पक्षबाट बारम्बारको धम्की तथा प्रहरी प्रशासनबाट भएको असहयोगका कारण पीडित पक्ष प्रधानमन्त्री र राष्ट्रपतिसमक्ष नै गई न्याय दिलाइ दिन अनुरोध गरेपछि समितिमा पुनः छलफलको विषय बनेको हो।  

उक्त छलफलमा भाग लिंदै नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरले ढिलो न्याय दिनु न्याय नदिनुसरह भएको विचार राख्नुभयो। 

प्रहरी, सरकारी वकिललाई जघन्य अपराध गर्नेहरूमाथि कारबाही गर्न रोक्नेहरूमाथि नै सर्वप्रथम समितिको ध्यान जानुपर्ने धारणा राख्दै उहाँले कुनै राजनीतिक दलका नेता, सांसद र मन्त्रीसम्म आफ्नो पहुँच भएको भन्दै पीडक र स्थानीय प्रहरी प्रशासनले धम्की दिएबाट उक्त घटनाका अपराधीहरूलाई पनि राजनीतिक संरक्षणको पुष्टि भएको बताउनुभयो।  

सांसद थापामगरले 'प्रहरी मेरो साथी' र 'मुश्कानसहितको प्रहरी' सरकारको नीति तथा कार्यक्रम भए पनि प्रहरी सर्वसाधारण जनताको साथी बन्न नसक्नु र मुस्कान पनि दिन नसक्नुमा शासक दलहरू नै जिम्मेवार रहेको उल्लेख गर्नुभयो।  

उहाँले कञ्चनपुरको उक्त घटनाका जघन्य अपराधीकै पक्षमा बोल्दै आएका भनिएका प्रहरी प्रशासनका अधिकारीलाई तत्काल कारबाही गर्नुपर्ने बताउनुभयो। 

केही कुरा गर्नुछ भनी बोलाई सिरहा जिल्ला प्रहरी कार्यालयमा पुर्‍याइएका रामचन्द्र महतोलाई अचेत हुनेगरी कुटपिट गरेको समाचारप्रति समितिको ध्यानाकर्षण गराउँदै उहाँले गत शुक्रबार भक्तपुरको सल्लाघारीमा शैलेन्द्र मुनकर्मीलाई र रवीन्द्र मुनकर्मीलाई पक्राउ गरी जगाती प्रहरी चौकीमा राती बत्ती निभाएर १०–१५ जना प्रहरीले कुटपिट गरेको समाचार मजदुर दैनिकमा प्रकाशित भएको पनि चर्चा गर्नुभयो। 

कञ्चनपुरको उक्त हत्यापछि आरोपी प्रकाश मल्लको घरमा भारतीय नम्बर प्लेटको गाडी देखिनुले खुला सीमाको माध्यमबाट अपराधीलाई भारत लुकाउन लाने तयारी रहेको हुनसक्ने तर्क राख्दै उहाँले नेपाल–भारत खुला सीमा तत्काल नियमित गर्न समितिले सरकारलाई निर्देशन दिनुपर्ने धारणा राख्नुभयो।  

सांसद थापामगरले भन्नुभयो, 'खुला सीमाका कारण लागूपदार्थ भित्रने, चेलीबेटी बेचविखनका साथै सीमा क्षेत्रमा अपराधका घटना पनि बढ्दो छ।' 

छलफलमा सांसद रूकमिणी चौधरीले अपराध अनुसन्धान व्यूरोले प्रहरी प्रशासनको चरम लापरबाही भएको बताएको तथा कञ्चनपुरका एसपी तुलसीप्रसाद अधिकारी आएदेखि ३१ वटा जघन्य अपराधका घटना घटेकोले स्थानीय प्रहरी प्रशासनका अधिकारीलाई तत्काल निलम्बन गर्नुपर्ने बताउनुभयो।  

अर्का सांसद दुर्गा खुनाले पीडक परिवारले घटना घटाएको होइन भन्ने एसपी र पोष्टमार्टमको प्रतिवेदन नदिने सम्बन्धित डाक्टरलाई पक्राउ गर्नुपर्ने बताउँदै काठमाडौंबाट गएको छानबीन टोलीको पछि नेपाली काङ्ग्रेसका नेताहरु लागेर अनुसन्धानलाई प्रभाव पारिरहेको बताउनुभयो।  

सांसद जीवन परियारले घटनामा पार्टी विशेषको संरक्षण नहुने, यदि राजनीतिक दल दोषी भए पनि कारबाही गर्नुपर्ने र सांसद बंशीधर मिश्रले अपराधीको कुनै पार्टी र जाति नहुने विचार राख्नुभयो।  

सांसदहरु नीशाकुमारी साह, यसोदा लामा, आशा कोइराला, टीएल चौधरी, आनन्दी पन्तलगायतले दोषीलाई तत्काल कारबाही गर्न माग गर्नुभयो।  

समितिले सभापति रञ्जु झाको नेतृत्वमा सांसदहरु जीवन परियार, रुकमिणी चौधरी, आनन्दी पन्त, कलशादेवी महरा र दुर्गा खुनालाई घट्नाका विषयमा अनुगमन गर्न पठाउने निर्णय गरेको छ। उक्त टोली आउँदो बिहीबार गई शुक्रबार फर्कने समितिले जानकारी दिएको छ।