स्ववियु निर्वाचन अनिश्चित
सुर्खेत, ६ भदौ। मध्यपश्चिम विश्वविद्यालयमा भदौ ८ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अनिश्चित भएको छ।
भदौ ४ गते विप्लव माओवादी निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दी खुलाउने क्रममा विश्वविद्यालय प्रशासनले निर्वाचन भदौ १३ गतेको लागि सारेको निर्णयप्रति नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, अखिल छैटौं र नयाँ शक्ति विद्यार्थी युनियनले नमान्नेपछि निर्वाचन अनिश्चित बनेको हो।
विश्वविद्यालयको निर्वाचन समितिले तोकेको कार्यतालिकाअनुसार निर्धारित भदौ ४ गते साझसम्ममा नेक्राविसङ्घले मात्र उम्मेदवारी दर्ता गराएको थियो र थपिएको समयावधिमा अखिल, अखिल क्रान्तिकारी र अखिल छैटौंले उम्मेद्वारी दर्ता गराएका थिए।
निर्वाचन समितिले तोकेको कार्यतालिकाबमोजिम प्रक्रिया अघि बढिसकेको अवस्थामा निर्वाचनको मिति पछाडि सारेकोमा नेक्राविसङ्घलगायतका विद्यार्थी सङ्गठनहरूले विरोध गरेका हुन्। विद्यार्थी सङ्गठनहरूले आइतबार साँझ उपकुलपति कार्यालय घेराउ गरेका थिए। कार्यक्रममा विद्यार्थी नेताहरूले अघिल्लो दिन साँझसम्मको बैठकमा विद्यार्थी सङ्गठनहरूलाई कुनै हालतमा भदौ ८ गते निर्वाचन गर्न वचनबद्ध उपकुलपति र विश्वविद्यालय पदाधिकारीहरूले अचानक मिति पछाडि सारेर विश्वासघात गरेको बताएका थिए।
सोमबार उपकुलपति कार्यालयमा उपकुलपति र रेजिस्टारसहितको विद्यार्थी सङ्गठनहरूको संयुक्त बैठकमा विद्यार्थी नेताहरूले लचकताको नाममा विश्वविद्यालयले मनलागी निर्णय गर्दा अन्ततः मिति नै सार्नुपर्ने अवस्थामा पुगेको भन्दै विश्वविद्यालय पदाधिकारीको तीखो आलोचना गरेका थिए।
प्रत्युत्तरमा उपकुलपतिले भदौ ८ गते कुनै पनि हालतमा निर्वाचन गर्न नसक्ने भनी सहयोग गर्न आग्रह गर्नुभएको थियो। अघिल्लो दिनसम्म उहाँ कुनै पनि हालतमा भदौ ८ गते नै निर्वाचन गरी छोड्ने वचनबद्धता व्यक्त गर्नुभएको थियो।
सभामा नेक्राविसङ्घका अध्यक्ष नीरज लवजूले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा शासक दलहरूबीचको भागबण्डाका कारण सबै विश्वविद्यालयहरूमा पदाधिकारीहरूले आफू अनुकूलका विद्यार्थी सङ्गठनहरूलाई पोस्ने काम भइरहेको बताउनुभयो।
यसअघि भदौ ४ गते नेक्राविसङ्घको तर्फबाट भरतप्रसाद दाहालको अध्यक्षतामा निर्वाचनको लागि प्रत्यक्षतर्फ १० सदस्यीय पूर्ण प्यानल दर्ता गरेको थियो।
उम्मेदवारी दर्तापछि आयोजित कोणसभामा नेक्राविसङ्घका अध्यक्ष नीरज लवजूले शैक्षिक क्षेत्रमा विचार र सिद्धान्तको राजनीतिको लागि नेक्राविसङ्घले उम्मेदवारी दिएको बताउनुभयो।
कार्यक्रममा नेक्राविसङ्घका केन्द्रीय सदस्य कुमारविक्रम शाही र अध्यक्ष पदका उम्मेदवार भरत दाहालले बोल्नुभएको थियो।
यसैबीच भदौ ५ गते नेक्राविसङ्घ मध्यपश्मिाञ्चल विश्वविद्यालय समितिको आयोजनामा चुनाव प्रचार सभा विश्वविद्यालय परिसरमा सम्पन्न भयो।
सभामा नेक्राविसङ्घका केन्द्रीय अध्यक्ष नीरज लवजूले नेपालको शिक्षा क्षेत्रमा मौलाएको नवउदारवादी नीतिको विरोधको सङ्घर्षलाई अझ व्यापक बनाउन नेक्राविसङ्घले स्ववियु निर्वाचनलाई उपयोग गरेको बताउनुभयो।
सभामा उहाँले स्ववियु निर्वाचनमा जित्ने नाममा खेत र सम्पति बेच्ने अनि चुनाव जित्ने कुसंस्कारले विद्यार्थी आन्दोलनलाई सही दिशा दिन नसक्ने बताउनुभयो।
कार्यक्रममा नेमकिपा सुर्खेत जिल्ला समितिका सचिव धनेन्द्र विक, नेक्राविसङ्घका केन्द्रीय सदस्यहरू पुष्पा विष्ट र कुमारविक्रम शाही र अध्यक्ष पदका उम्मेदवार भरत दाहालले बोल्नुभएको थियो। |