प्रशासनको निगरानीपछि प्राध्यापकद्वारा धमाधम राजीनामा
चितवन, ६ भदौ। स्थानीय प्रशासनले एउटै सिफ्टमा दुई वा सोभन्दा बढी क्याम्पसमा पढाउने प्राध्यापकमाथि निगरानी थालेसँगै यहाँका सामुदायिक र निजी क्याम्पसका प्राध्यापकहरूले राजीनामा दिन थालेका छन्।
सरकारी र सामुदायिक क्याम्पसमा हाजिर गर्ने र निजी एवम् अर्काे सामुदायिक क्याम्पसमा पढाउन जाने प्रचलन बढेपछि स्थानीय प्रशासनले त्यस्ता प्राध्यापकमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ।
निगरानी बढाएसँगै भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसबाट पुराना सातजना प्राध्यापकले राजीनामा दिएका छन्। सहायक क्याम्पस प्रमुख धर्मराज घिमिरेका अनुसार क्याम्पसको स्थापनादेखि नै कार्यरत प्राध्यापकले समेत राजीनामा दिएका छन्। सोही सिफ्टमा सरकारी क्याम्पस वीरेन्द्र बहुमुखी क्याम्पसमा पढाउँदै आएका उनीहरूले प्रशासनको निगरानीपछि राजीनामा दिएका हुन्।
त्यसैगरी भरतपुरकै मैयादेवी कन्या क्याम्पसका दुई पूर्व क्याम्पस प्रमुखसहित पाँचजनाले राजीनामा दिएका छन्। क्याम्पस प्रमुख कृष्ण न्यौपानेका अनुसार वीरेन्द्र क्याम्पसमा एउटै सिफ्ट परेपछि उनीहरूले राजीनामा दिएका हुन्। राजीनामा दिएलगत्तै राजीनामा स्वीकृत गरिएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष टङ्कनाथ पौडेलले बताउनुभयो। स्थापनाकालदेखिका प्राध्यापक भएकोले धेरै सुविधा खाने प्राध्यापकले छाडेसँगै क्याम्पसको व्ययभारमा कटौती भएको छ।
अर्काे बालकुमारी क्याम्पस नारायणगढमा कार्यरत दुईजना प्राध्यापकले पनि राजीनामा दिएको क्याम्पस प्रमुख शिव पौडेलले बताउनुभयो। उहाँले भन्नुभयो – “दुईजनाले यहाँ छोडेर वीरेन्द्र क्याम्पसमा पढाउन थाल्नुभयो, एकजनाले वीरेन्द्र क्याम्पस छोडेर यहाँमात्रै पढाउन थाल्नुभएको छ।”
त्यस्तै सरकारी स्वामित्वको स्कूल अफ हेल्थ साइन्स भरतपुरमा पढाउँदै आएका केही प्राध्यापक हाजिर गर्न जान छाडेको प्रिन्सिपल अच्युत दाहालले बताउनुभयो। अहिले कक्षा सञ्चालन नभएकोले हाजिरमात्रै गर्नुपर्नेमा अन्य क्याम्पसमा पूर्णकालीन भएकोले हाजिर गर्न नमिल्ने भन्दै केही प्राध्यापक हाजिर गर्न आउन छाडेका छन्, उहाँले भन्नुभयो। उनीहरूको तलब रोक्का गरिएको छ।
नेपाल पब्लिक क्याम्पस सङ्घ चितवनका अध्यक्ष कृष्ण सुवेदीले क्याम्पसहरू स्वयम्ले गर्नुपर्ने निगरानी प्रशासनले गर्नु सकारात्मक रहेको बताउनुभयो। आफू क्याम्पस प्रमुख रहेको सहिद स्मृति कलेजमा भने गत वर्षदेखि नै यसमा कडाइ गरिएकोले अहिले कसैले राजीनामा दिनु नपरेको बताउनुभयो।
यसको प्रत्यक्ष प्रभाव जिल्लाका निजी उच्च माविहरूमा पनि परेको छ। अधिकांश वीरेन्द्र बहुमुखी क्याम्पस पढाउने प्राध्यापकले यहाँका निजी उच्च मावि सञ्चालन गरेका छन्। सिफ्ट मिलाउन सक्नेबाहेक अधिकांशले निजी पढाउन नपाउने भएपछि उच्च माविहरूले प्राध्यापकको रुटिङ मिलाउन कठिन भएको जनाएका छन्।
निजी उच्च माविहरूको संस्था (हिसान) चितवनका अध्यक्ष भूपेन्द्र धितालले कतिपय निजी उच्च माविको जिम्मेवारीसमेत सरकारी एवम् सामुदायिक क्याम्पसका प्राध्यापकले सम्हालेको भन्दै यसले प्रत्यक्ष प्रभाव पार्ने बताउनुभयो। यद्यपि विधि सिकाउने प्राध्यापक एकै समयमा दुई ठाउँमा पढाउन जानु आफैंमा लाजमर्दाे भएकोले प्रशासनले गरेको निगरानी स्वागतयोग्य रहेको बताउनुभयो। विज्ञान विषयका केही प्राध्यापकहरू भने पाउन कठिन हुने हुँदा समस्या पर्ने उहाँले बताउनुभयो।
स्थानीय प्रशासनले एकै सिफ्टमा दुई वा सोभन्दा बढी ठाउँमा पढाउने प्राध्यापकमाथि कारबाही गर्ने जनाउँदै सबै क्याम्पसबाट रुटिङ मागेपछि प्राध्यापकहरूले राजीनामा दिन थालेका हुन्। रासस
|