September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

पर्वतारोहण रहर होइन पेसा हो खुम्जुङवासीको

भोजेन्द्र बस्नेत  

सोलुखुम्बु, ६ भदौ। सगरमाथाको प्रवेशद्वारका नामले चिनिएको नाम्चेबजारबाट थोरै, तर नाकै ठोक्किने उकालो चढेपछि नेपालकै उचाइमा रहेको स्याङबोचे विमानस्थल पुगिन्छ। स्याङबोचेबाट नेपालकै एकमात्र याक विकास फार्मको अवलोकन गर्दै खुम्जुङ भ्याली पुगिन्छ।  

खुम्जुङ भ्याली, खुन्दे तथा फोर्चे पर्वतारोहीको गाउँ हुन्। सुन्दर, मनोरम भएकोले जो कोहीलाई मोहनी लगाउँछ खुम्जुङले। चिसो सिरेटोमा सिउसिउ गर्दै यहाँबाट देखिने हिमशृङ्खला नियाल्नुको आनन्द वर्णन गर्नै नसकिने छ। हिउँको माला लगाएर ठाँटिएको छ खुम्जुङ। खुम्जुङ हिउँको छायाँको बर्काे ओढेर टुसुक्क बसेको छ। हेर्दै लोभालाग्दो। “मिल्ने भए चोरेर आफ्नै देश लैजाउँजस्तो,” खुम्जुङमा भेटिएका इजरायली पर्यटक पेभिएनले भन्नुभयो। 

खुम्जुङ हिउँको माला लगाएर, हिउँकै छायाँको बर्काे ओढेर टुसुक्क बसेजस्तो भए पनि यहाँका युवायुवती त्यसरी बस्न पाउँदैनन्। यहाँका युवकयुवतीले कैयौंपटक विश्वको सर्वाेच्च शिखर सगरमाथा तथा अन्य हिमाल चढिरहनुपर्दछ। यहाँका १५० भन्दा बढी युवाले कलिलै उमेरमा सगरमाथा आरोहण गरिसकेेका छन्। पर्वतारोहण नै यहाँका बासिन्दाको खेतीपाती, जागिर, व्यापार हो। जीवनयापनका लागि प्रमुख आधार नै पर्वतारोहण भएकोले यहाँका अधिकांशले सगरमाथा आरोहण गर्नलाई पानीपँधेरोजस्तै मान्छन्। 

यहाँका बासिन्दाले पर्वतारोहणलाई जागिर वा खेतीपाती माने पनि खुम्जुङमा आलु, मुला, फापरलगायतको बाली पनि हुन्छ। तर त्यस्ता बालीभन्दा खुम्जुङेको मुख्य आयस्रोत नै पर्वतारोहण हो। पर्यटकको रोजाइमा परेको खुम्जुङका महिला प्रायः होटल व्यवसाय तथा पुरुष पर्वतारोहणतिर लाग्ने गरेको स्थानीय समाजसेवी तेञ्जिङ टासी शेर्पा बताउनुहुन्छ।  

यहाँका अधिकांशले सगरमाथाको साथै नेपालभरिका आठ हजारभन्दा माथि उचाइ रहेका सबै शिखरको आरोहण गरिसकेका छन्। पर्वतारोही जाङबुसेराब शेर्पा भन्नुहुन्छ, “पर्वतारोहणमा लाग्नु हाम्रो रहर नभएर बाध्यता हो। ज्यानै जोखिममा राखेर शिखर चढ्ने रहर कसलाई हुुन्छ र?” यहाँका कतिपयले पर्वतारोहणलाई पेसाका रुपमा लिँदा विश्व कीर्तिमान नै कायम गरेका छन्। पर्वतारोहणले गर्दा नै यहाँका शेर्पा विदेशी पर्यटकको साथ लागेर अमेरिका, जापान, जर्मनी, बेलायतलगायतका देश पुगेका छन् र पनि उनीहरू खुसी भने छैनन्। पर्वतारोहीलाई सरकारले उचित सुविधा दिन नसकेको भनाइ छ यहाँका पर्वतारोहीको। आठ हजारभन्दा माथिका चारवटा शिखर आरोहण गरिसक्नुभएका पर्वतारोही ङिमा शेर्पा भन्नुहुन्छ, “ सरकारले विदेशी पर्वतारोहीलाई सम्मान र नेपालीलाई अपमान गरेको देख्दा छक्क लाग्छ।”  

सगरमाथा, पुमोरी, आमाडब्लमलगायतका अग्ला हिउँचुलीको काखमा अवस्थित खुम्जुङको अर्काे विशेषता भनेको यहाँको शेर्पा जातिको संस्कृति हो। वर्षौंपिच्छे यहाँ आयोजना हुने ल्होसार, डुम्जी, माणिरुम्डुजस्ता पर्व पर्यटकका लागि थप आकर्षण बनेको छ। बाटोभरि सजिएका ध्वजापताका अनि शान्ति कुँदिएका मानेढुङ्गाले जसलाई पनि एकैछिन भए पनि सोचनीय बनाउँछ। खुम्जुङ भएर सगरमाथा आरोहण गर्न हिँडेका पर्वतारोहीको क्याराभान (लस्कर) देख्दा खुम्जुङ बेहुली लिएर फर्केको जन्तीजस्तै देखिन्छ। यहाँ अधिकांश बासिन्दा सामान्य शिक्षा लिएका वा निरक्षर पनि छन्। खुम्जुङमा विश्वकै सबैभन्दा बढी अग्लो स्थान सगरमाथा, विश्वको सबैभन्दा अग्लो गाउँ, विश्वको सर्वाधिक उचाइमा रहेको स्याङ्बोचे विमानस्थल, विश्वमा सबैभन्दा उचाइमा रहेको होटल एभरेस्ट भ्यु तथा विश्वको सबैभन्दा उचाइमा रहेको गुम्बा पाङ्बोचे पनि रहेको छ। धेरै कुरामा उचाइ हुँदै गर्दा यहाँका अधिकांश युवायुवतीको खेती पनि त्यही उचाइसँग जुध्नु रहेको छ।