September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

मिलेर काम गर्नु चीनको सपना

भक्तपुर, ७ भदौ। विज्ञान, प्रविधि, उद्योगधन्दा, व्यापार, कृषिलगायत क्षेत्रमा चीनले छोटो अवधिमा गरेको विकास, चीनको आर्थिक जीवनमा देखापरेको उपलब्धि र त्यही समयमा चीनको एसिया, अफ्रिका, ल्याटिन अमेरिका, युरोप र संरा अमेरिकालगायतका देशहरूसँगको कूटनीतिक सम्बन्धबारे सर्वसाधारण नेपालीलाई जानकारी दिने उद्देश्यले वर्कर्स पब्लिकेशनद्वारा प्रकाशित 'चिनियाँ सपना' पुस्तकबारे अन्तरक्रिया कार्यक्रम मङ्गलबार ख्वप कलेजमा सम्पन्न भयो।  

अन्तरक्रिया कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले चिनियाँ सपना संसारकै समृद्धिको दूरदर्शी एवम् चमत्कारपूर्ण चिन्तन रहेको बताउनुभयो।  

उहाँले चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्षपछि अर्थात् सन् २०२१ मा चिनियाँ अर्थतन्त्रले संरा अमेरिकी अर्थतन्त्रलाई उछिन्ने र चीनको क्रान्ति सफल भएको एक सय वर्षपछि अर्थात् सन् २०४९ मा चीनको आर्थिक वृद्धि संरा अमेरिका र युरोपियन युनियनको भन्दा बढी हुने चर्चा गर्नुभयो।  

उहाँले भन्नुभयो, 'चीनको सपना संसारको जनतासँग मिलेर काम गर्ने र विकासलाई मानव समाजको हितमा प्रयोग गर्ने हो। चीनको सपना संसारका बुद्धिजीवीहरूको सपना हो। तर चीनको विकासलाई रोक्न संरा अमेरिका बदलाको भावले काम गरिरहेको छ। अरुलाई ध्वस्त पारेर संरा अमेरिका आफू अगाडि बढ्न चाहन्छ। इतिहासको अध्ययनले यही कुरालाई प्रमाणित गर्छ।' 

जनतालाई शिक्षा र स्वास्थ्य निःशुल्क प्रदान गर्नेलगायत समाजवादी अर्थ व्यवस्थाअनुसार काम गरेको सहन नसकेर लिविया र इराकमा संरा अमेरिकाले आक्रमण गरी त्यहाँको पेट्रोलियम पदार्थ कब्जा गरेको अध्यक्ष बिजुक्छेंले बताउनुभयो।अध्यक्ष बिजुक्छेंले भन्नुभयो, 'चीनको कूटनीतिक र आर्थिक प्रगतिबाट नेपालले सिक्नुपर्छ।  

उहाँले भन्नुभयो, नेपालको सरकारमा रहेका नेताहरूको बोलीको ठेगान नभएकोले विदेशीले नेपालीहरूलाई विश्वास गर्दैनन्।' 

विद्यार्थीहरूको दृष्टिकोण उँचो बनाउन र सांस्कृतिक स्तर उकास्न शिक्षकहरूले मेहनत गर्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो। 

ख्वप उच्च मावि/कलेज सञ्चालक समितिका अध्यक्ष एवं सांसद प्रेम सुवालले नयाँ पुस्तालाई तयार गर्न र नेपालको अर्थतन्त्रलाई अगाडि बढाउन 'चिनियाँ सपना' पुस्तक अध्ययनले सहयोग गर्ने बताउनुभयो।   

नेतृत्व राम्रो भयो भने छोटो अवधिमा देश विकास हुने चर्चा गर्दै उहाँले भन्नुभयो, 'चिनियाँ सपना भनेको विश्वको मानव जातिको हितको सपना हो।' 

राजश्वले कर्मचारीलाई तलब खुवाउन नै नपुग्ने देशको अर्थतन्त्रको स्थिति रहेको, ७० लाखभन्दा बढी नेपाली युवाहरू विदेशमा रहेको र ७ खर्बको आयात र ७० अर्बको निर्यातको स्थिति देशको रहेको उहाँले बताउनुभयो।  

तराई एक मधेस वा दुई प्रदेश र पदाधिकारीमा कृत्रिम नागरिक जान पाउने गरी संविधान संशोधन भएमा देश सिक्किम बन्ने सांसद सुवालले बताउनुभयो।  

कार्यक्रममा ख्वप कलेजका प्राचार्य रुपक जोशी, ख्वप उच्च माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, उपप्राचार्यद्वय राजेशकुमार श्रेष्ठ र लक्ष्मीप्रसाद कर्माचार्य, वरिष्ठ शिक्षक विश्वमोहन जोशी, शिक्षकहरू राजन फाजू, विष्णुप्रसाद किसी र कमिनिका न्याइच्याईले पुस्तकबारे आ–आफ्नो विचार राख्नुभएको थियो।