September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

स्थानीय तह पुनर्संरचनासम्बन्धी जिल्लास्तरीय कार्यशाला

भक्तपुर, १० भदौ। जिविस भक्तपुरद्वारा स्थानीय तह पुनर्संरचनासम्बन्धी जिल्लास्तरीय कार्यशाला गोष्ठीको नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले शुक्रबार गमलामा पानी सिञ्चित गरी उद्घाटन गर्नुभयो।  

भक्तपुर जिल्लाका पूर्व तथा वर्तमान सांसदहरू, पूर्वमन्त्री, राजनैतिक दलका प्रतिनिधि, जिविस, नपा र गाविसका पूर्व जनप्रतिनिधि, जिल्लाका कार्यालय प्रमुख एवं प्रतिनिधि, पत्रकार, विभिन्न क्षेत्रका बुद्धिजीवी सहभागिता रहेको उक्त कार्यशाला गोष्ठीको सभापतित्व जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले गर्नुभएको थियो।  

कार्यक्रमका प्रमुख अतिथि बिजुक्छेंले सङ्घीयता आन्दोलनको माग नभएको तर हाम्रा नेताहरूको झुक्ने बानीले गर्दा लादिएको सङ्घीयताको कारण देशलेे समस्या भोगिरहेको बताउनुभयो।  

बेलायतका राजामहाराजाले आफूले रिझाएका व्यक्तिहरूलाई अक्षांश र देशान्तरको आधारमा जग्गा बक्सिस दिएको आधारमा नगर बनेको उदाहरण दिंदै अध्यक्ष बिजुक्छेंले उत्तर र दक्षिण कोरिया तथा भियतनाममा समानान्तर रेखाको आधारमा सीमा निर्धारण गरिएको उल्लेख गर्नुभयो। उहाँले बेलायती साम्राज्यवादले भारत छोड्नुअघि धर्मको आधारमा भारत र पाकिस्तानको सीमा छुट्याएको उदाहरण प्रतुस्त गर्नुभयो। बेलायती उपनिवेशविरूद्धको दुई सय वर्षको स्वतन्त्रता आन्दोलनमा भारतमा जम्मा २०/३० हजार मान्छे मरे भने भारत स्वतन्त्र भएको एक वर्षभित्र १५/२० लाख मान्छे मारिएको अध्यक्ष बिजुक्छेंले बताउनुभयो।  

उहाँले भन्नुभयो, 'हाम्रा सरकारहरू अरूबाट सञ्चालित छन्। एउटै विषयमा फरक फरक धारणा र अभिव्यक्ति आइरहन्छन्।'  

स्थानीय तहको सीमाङ्कनको विषयमा पनि वडा तहसम्म जनतामा छलफल चलाउनुपर्ने विचार राख्दै उहाँले स्थानीय निकायको निर्वाचन छिट्टै गर्नुपर्नेमा जोड दिनुभयो।  

स्थिरता नचाहने र विदेशीको इसारामा चल्नेहरूले निर्वाचन गराउन चाहँदैनन्, उहाँले भन्नुभयो।  

अध्यक्ष बिजुक्छेंले भन्नुभयो, 'सङ्घीयताले विकास हुने भए भारत विकासमा अगाडि बढेको हुन्थ्यो तर भारतका आधा जनसङ्ख्याले एक छाकमात्र खान पाउँछ, आधा जनसङ्ख्याको शौचालय छैन, बढी चेलीबेटी बलात्कार हुने देश भारत नै हो, सङ्घीयता न त समाजवाद नै हो।' 

नेमकिपाका अर्का सांसद प्रेम सुवालले स्थानीय तहको सङ्ख्यामा नेका, एमाओवादी केन्द्रलगायत दलहरूले सङ्ख्या नपुगेको कुरा उठाएका छन्, छलफललाई वडा तहसम्म लानुपर्छ, आयोगले दिएको कार्यविधिअनुसारको हाम्रो स्थानीय निकाय कस्तो बन्छ? चल्न सक्छ कि सक्दैन आदि विषयमा व्यापक छलफलको आवश्यकता छ भन्नुभयो।  

सासंद रामेश्वर ढुङ्गेललेे आयोगले तोकेको ५६५ वटा सङ्ख्या धेरै कम भएकोले स्थानीय निकायको सङ्ख्या एक हजार पुर्‍याउनुपर्ने नेकाको धारणा रहेको बताउनुभयो। उहाँले भक्तपुरलाई एउटै उपमहानगर बनाउने कहीं कतै सुनेको तर त्यो व्यवहारिक हुँदैन भन्नुभयो।  

सांसद अनुराधा थापामगरले पार्टीले छिट्टै स्थानीय निकायको निर्वाचन गरी आधा बजेट स्थानीय निकायलाई दिनुपर्ने विचार राख्दै आएको बताउँदै सरकारहरूले भक्तपुरलाई विभेद गरेको बताउनुभयो। 

पूर्वाधार भएको ख्वप विश्वविद्यालयलाई अगाडि नबढाउने, भक्तपुर अस्पताल, मानव अङ्ग प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पताल समेटी भक्तपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने प्रस्ताव अगाडि बढाउनुपर्ने बताउनुभयो।  

सांसद केदार सञ्जेलले अधिकांश पार्टी र बोल्ने वक्ताहरूले भक्तपुरलाई अहिलेकै अवस्थामा ६ वटा नगरपालिका कायम गर्नुपर्ने विचार आएको हुँदा ६ वटा नै निर्धारण गरी सिफारिस गर्नुपर्ने बताउनुभयो।  

नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले संविधानसभाले स्थानीय तह कस्तो बनाउन खोजेको भन्नेबारे जनतासम्म नपुगेको हुँदा त्यसलाई बुझाएर स्थानीय तहको पुनःसंरचनाबारे छलफल अगाडि बढाउनुपर्ने बताउनुभयो।  

नेकाका गणेशमान चक्रधर, नेकपा एमालेका राजेन्द्र राजथला, नेकपा माओवादी केन्द्रका डीपी ढकाल, राप्रपा नेपालका युवती कार्की, राप्रपाका रामशरण लामिछाने, राजमोका शिवहरि कार्कीलगायतका वक्ताहरूले आयोगले निर्धारण गरेको सङ्ख्या पुग्दैन त्यसकारण ६ वटै नगरपालिका कायम गर्नुपर्ने धारणा राख्नुभयो।