चीनको विकासबाट नेपालले फाइदा लिनुपर्छ
भक्तपुर, १० भदौ। नेपाल मजदुर किसान पार्टी विदेश सम्बन्ध विभागका प्रमुख एवं सांसद प्रेम सुवालले चीनले गरिरहेको विकास विश्वकै निम्ति उदाहरणीय भएको बताउँदै चीनको विकासबाट नेपालले फाइदा लिनुपर्ने बताउनुभएको छ।
प्रभात इङ्गलिस उच्च माविका शिक्षक–शिक्षिका र कर्मचारीमाक्र शुक्रबार सम्पन्न 'चिनियाँ सपना' पुस्तकमाथिको अन्तरक्रियामा बोल्दै सांसद सांसद सुवालले नेपाललाई चीन र भारतबीचको व्यापारिक केन्द्र बनाउनुपर्ने बताउनुभयो।
चीन सहअस्तित्व र पञ्चशीलको नीतिमा अडिग रहेको बताउँदै 'चिनियाँ सपना' चीनको मात्र समृद्धिको सपना नभई विश्वकै जनताको समृद्धिको निम्ति काम गर्ने योजना भएको बताउनुभयो।
उहाँले नयाँ पुस्तालाई योग्य, सक्षम र देशभक्त नागरिकको रूपमा तयार गर्ने जिम्मा शिक्षक–शिक्षिकाहरूको भएको बताउँदै शिक्षकहरूले पनि सूचना–प्रविधिका नयाँ नयाँ प्रविधि उपयोग गरेर अध्यापन गराउन आग्रह गर्नुभयो।
कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश थुसाले 'चिनियाँ सपना' को अवधारणा विश्वका जनताको हित हेर्ने – जीत–जीत सिद्धान्तमा आधारित भएको बताउँदै साम्राज्यवादी पश्चिमा सञ्चार माध्यमहरूले गलत प्रचार गरिरहेको बताउनुभयो।
चीन विश्व शक्तिको रूपमा उदाए पनि कहिल्यै समाजवादको बाटो नछोड्ने र उपनिवेशवादी र साम्राज्यवादी नीति नलिने चिनियाँ नेतृत्वको कटिबद्धताले विश्वका न्यायप्रेमी जनतामाझ नयाँ आशा सञ्चार गरेको उहाँले बताउनुभयो।
रेशम मार्ग र २१ औं शताब्दीको सामुद्रिक रेशम मार्गबारे पावर प्वाइन्ट प्रस्तुतिकरण गर्दैै ख्वप उच्च माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले रेशम मार्गको नीति चीनको विदेश नीति बनेको चर्चा गर्नुभयो।
चीनको आर्थिक विकासले वरपरका धेरै देशहरूको विकासमा सहायता पुगेको उहाँले औंल्याउनुभयो।
विद्यालयका प्राचार्य राम कासुलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्राचार्य कासुला, उपप्राचार्य केबी प्रजापति, शिक्षक–शिक्षिकाहरू हरिराम सुवाल, रमेश सितिखू, राजेश्वरी गाइजू, लीना लासिवा, जयकृष्ण श्रेष्ठलगायतले पुस्तकमाथि आ–आफ्नो टिप्पणी राख्नुभएको थियो। |