भारतीय एकाधिकार पूँजीले दक्षिण एसियालाई निल्दै
भक्तपुर, ११ भदौ। नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा शनिबार जिल्लास्तरीय किसान भेला भयो।
भेलामा बोल्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं सांसद प्रेम सुवालले भारतीय एकाधिकार पूँजीवाद दक्षिण एसियामा ठालू बन्न खोजेको चर्चा गर्दै यो क्षेत्रका अरु साना देशहरूका स्वाभिमानमा चोट पुर्याउने काम गरिरहेको बताउनुभयो।
उहाँले किसानहरूले कृषि उत्पादन बढाउन सके नेपाल अरु देशमाथि परनिर्भर हुन नपर्ने बताउँदै उत्पादन वृद्धिका लागि व्यवसायिकता विकासमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो।
'विदेशको मुख ताकेर होइन, हाम्रै देशमा कृषि, उद्योगलगायत क्षेत्रमा व्यवसायिकता विकास गर्न सके देशलाई चाँडो आत्मनिर्भर गर्न सक्छौं।' उहाँले भन्नुभयो।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष रमेश थापाश्रेष्ठले नेमकिपालाई समुल नष्ट गर्ने नियतले पञ्चायती राज्यले रचेको षड्यन्त्र भक्तपुर काण्डबारे चर्चा गर्दै देश र जनताको निस्वार्थपूर्वक सेवा गर्ने कार्यकर्ताहरूलाई सिध्याउन हुन सक्ने गुण्डागर्दी, जालझेल र छलकपटबाट सजग हुनु पर्ने बताउनुभयो।
नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको कार्यक्रममा नेक्राकिसङ्घ केन्द्रीय समितिका सह–सचिव हरिराम सुवाल र सूर्यबहादुर फोजूलगायतले बोल्नुभएको थियो।
भेलाले गोविन्द दुवालको संयोजकत्वमा नेक्राकिसङ्घको छैटौं भक्तपुर जिल्ला सम्मेलन तयारी समिति गठन गरिएको छ।
|