नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौंको तेस्रो जिल्ला सम्मेलन सम्पन्न
काठमाडौं, ११ भदौ। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले मधेसीलाई सन्तुष्ट पार्ने नाउँमा संविधान संशोधन गरिएमा नेपालले थप सङ्कटको सामना गर्नुपर्ने बताउनुभयो।
नेपाल क्रान्तिकारी किसान सङ्घ काठमाडौं जिल्लाको तेस्रो सम्मेलन उद्घाटन गर्दै सचिव प्रजापतिले संविधान कार्यान्वयन गर्नुपर्ने बेलामा सरकार परिवर्तन गर्नु नेपालमा निर्वाचन हुन नदिन भारतले चालेको खतरनाक चाल भएको बताउनुभयो।
उहाँले शासक दलहरूले पाइला पाइला गरेर नेपाललाई कृषिमा समेत भारत निर्भरको स्थितिमा पुर्याएको बताउँदै कृषिजन्य वस्तुमात्रै वार्षिक डेढ खर्बको आयात गर्नुपर्ने स्थितिले नेपालको अर्थतन्त्र कहालीलाग्दो स्थिति देखाउँछ भन्नुभयो।
उहाँले भन्नुभयो, 'भारतले नेपाललाई कुनै पनि क्षेत्रमा आत्मनिर्भर हुनै दिंदैन। नेपाली नेताहरूले नै यसबारे सोच्नुपर्थ्यो। रासायनिक मल कारखानाको स्थापना, माछा, मासु, दूध र खाद्यान्नमा आत्मनिर्भरको लागि सरकारले विशेष कार्यक्रमहरू बनाउनुपर्छ।
उहाँले क्युवाले प्रशस्त कृषि वैज्ञानिकहरू उत्पादन गरेर कृषिमा प्रगति गरेको उदाहरण दिंदै नेपालले पनि क्युवाबाट आत्मनिर्भरताको पाठ सिक्नुपर्ने बताउनुभयो।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जनले नेपालको संविधान संशोधनबारे भारतमा छलफल गर्नु आपत्तिजनक छ भन्नुभयो।
नेमकिपाका अर्का केन्द्रीय सदस्य नारायण महर्जनले जनताको सेवा गर्ने उद्देश्यले स्थापना भएको नेमकिपालाई समाप्त पार्न २०४५ सालमा 'भक्तपुर काण्ड' षड्यन्त्र गर्ने पञ्चायत व्यवस्था आफै समाप्त भयो भन्नुभयो।
नेक्राकिसङ्घ तेस्रो काठमाडौं जिल्ला सम्मेलन तयारी समितिका सहसंयोजक गुणदास महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय सचिव विकल प्रजापतिले नेपालको किसान आन्दोलनको इतिहास र वर्तमान किसान समस्याबारे बोल्नुभयो।
कार्यक्रममा शोभलाल महर्जन, रविना डंगोल, हरिकुमार महर्जनलगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।
|