September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

३६ औं नेपालभाषा साहित्य तःमुंज्या (सम्मेलन) असोज २७ र २८ गते भार्वाचोमा हुने

भक्तपुर, ११ भदौ। नेपालभाषा साहित्य तःमुंज्या स्थापनाको उद्देश्य साहित्यको उन्नयनसँगै वर्गीय र राजनीतिक सङ्घर्ष अगाडि बढाउनु हो।  

उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले शनिबार नेपालभाषा साहित्य तःमुंज्याको परिषद् र पुनर्गठन कार्यक्रममा व्यक्त गर्नुभएको हो।  

नेपालभाषा साहित्य तःमुंज्याका पदाधिकारी तथा सदस्यहरू, लेखक, कलाकार, तथा वाद्यवादक, सङ्गीतप्रेमी, भाषासेवी तथा साहित्यकारहरूको उपस्थिति रहेको सो बैठकमा अध्यक्ष रोहितले तःमुंज्यालाई राजनीतिक र वर्गीय रूपले अघि नबढाए साम्प्रदायिक भावना फैलिने सम्भावना हुन्छ भन्नुभयो।  

साहित्य र साहित्यकार जनता र राजनीतिबाट अलग हुन नसक्ने विचार राख्दै उहाँले भन्नुभयो – तःमुंज्याले प्रतिगामी र प्रतिक्रियावादी साहित्यको विरोध गरिरहेको छ। यसले कहिल्यै जातिगत र भाषागत राजनीति गरेको छैन।  

जनताको साहित्य जनताको घर आँगनमा पुर्‍याउन र व्यापक बनाउन जनताका साहित्यकारहरूको साहित्य प्रकाशन गर्न उहाँले जोड दिनुभयो।  

प्रकाशित साहित्यका प्रकाशनहरू हरेक पुस्तकालयमा राख्नुपर्नेमा जोड दिंदै अध्यक्ष रोहितले ठूलठूला पुस्तकालयहरू खोल्नुपर्ने आवश्यकता औंल्याउनुभयो।  

नेक्राकिसङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले शोषक र शोषित वर्गको साहित्यिक भेदबारे उल्लेख गर्दै तःमुंज्याले साहित्यमार्फत वर्गसङ्घर्षको भावनाले काम गरिरहेको बताउनुभयो।  

नेपालभाषा साहित्य तःमुंज्या स्थापनाको औचित्यताबारे प्रकाश पार्दै उहाँले जनताको पीडा, मर्का, देश र विदेशका स्वतन्त्रता र मुक्ति आन्दोलन जनतामाझ पुर्‍याउन नै तःमुंज्या  स्थापना भएको हो भन्नुभयो।जनकवि चन्द्रबहादुर उलकले जनतामाझ बाटै जनताका साहित्यकार र कलाकार बनाउने ध्येय तःमुंज्याको रहेको उल्लेख गर्नुभयो।  

उहाँले भन्नुभयो, 'भाषिक र साहित्यिक आन्दोलन वैचारिक परिवतर्नको निम्ति हुनुपर्छ, साहित्य र राजनीति नङ र मासुजत्तिकै सम्बन्ध छ।  

नेमकिपा जिल्ला समिति भक्तपुरका अध्यक्ष रमेश थापा श्रेष्ठले स्थानीय तहको संरचनासम्बन्धी सरकारी अवधारणाबारे जानकारी दिंदै भक्तपुरमा कति वटा नपाको बन्दोबस्त गर्दा उपयुक्त हुन्छ भन्ने कुरामा छलफल गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।  

नेमकिपा नगर समिति भक्तपुरका अध्यक्ष रवीन्द्र खर्बुजाले सुरूदेखि हालसम्म भएको साहित्य सम्मेलनमा प्रमुख अतिथि, सभापति, आयोजक समितिका अध्यक्ष, तःमुंज्याका पदाधिकारीहरूको तथ्याङ्कको स्मरण गराउनुभयो।  

नेपालभाषा साहित्य तःमुंज्याका अध्यक्ष कान्छा बासुकलाको सभापतित्वमा भएको परिषद्को भेलामा सुरेन्द्रराज गोसाई र लक्ष्मीनारायण दुवालले पनि बोल्नुभएको थियो।  

परिषद्को सो भेलाले जनकवि चन्द्रबहाुदर उलकको अध्यक्षतामा ४१ सदस्यीय नेपालभाषा साहित्य तःमुंज्या गठन गरेको छ।  

उपाध्यक्ष लक्ष्मीनारायण दुवाल, सचिव सुरेन्द्रराज गोसाई, सहसचिव नीरज लवजू र कोषाध्यक्ष लक्ष्मीनारायण राजलवट रहेको सो मुंज्यामा कलाकार, साहित्यकार, सङ्गीतप्रेमी, भाषासेवीहरू रहनुभएको छ। सोही परिषद्को भेलाले एक सल्लाहकार समिति र सचिव मण्डल पनि गठन गरेको छ। 

भेलामा ३६ औं नेपालभाषा साहित्य तःमंुज्या भनपा वडा नं १७ स्थित नयाँ मिनिबस पार्क भार्वाचोमा हुने जानकारी दिइयो ।