विकासको काम पारदर्शी गर्ने कार्यक्रम
भक्तपुर, ११ भदौ। गोंसपुल बाटो निर्माण उपभोक्ता समिति, बागेश्वरी नगरकोट नपाको संयोजनमा गोंसपुलदेखि मूलसाँगु पुलसम्म बाटो चौडा पार्ने कार्यको जानकारी दिने उद्देश्यले शनिबार यातुमहादेव स्थानमा धन्यवाद कार्यक्रम सम्पन्न भयो।
उक्त कार्यक्रममा नगरकोट नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र कार्कीले छोटो समयमा धेरै काम गरेकोमा सराहना गर्दै उक्त बाटोको स्तरोन्नति गर्न सहयोग निरन्तर भइरहने विश्वास व्यक्त गर्नुभयो।
राजनीतिक संयन्त्रका प्रतिनिधि राजु सुवेदीले गोंसपुल बाटो निर्माण उपभोक्ता समितिले नमुना कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो।
नगरकोट नपाका लेखा अधिकृत वीरवल अधिकारी, फाँटको तर्फबाट किसान प्रतिनिधि विष्णुगोपाल कुसी, समितिका उपाध्यक्ष कृष्णप्रसाद दुमरु, कोषाध्यक्ष धर्मलक्ष्मी लघुले पनि बाटो निर्माणमा सबैको सहयोग र साथ पाएको विचार व्यक्त गर्नुभयो।
समितिका अध्यक्ष जनकलाल गोठेको सभापतित्वमा भएको सो कार्यक्रममा बाटो निर्माणमा थप आर्थिक सहयोग गर्ने सङ्घ/संस्थाका प्रतिनिधि र सहयोगी महानुभावहरूलाई अतिथि कार्कीले कदरपत्र प्रदान गर्नुभएको थियो।
त्यस्तै समितिका सभापति गोठेले अतिथि तथा नपाका प्राविधिक र कर्मचारीहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो। |